
अपराधी पक्राउ गर्न नागरिक दायित्वको खाँचो
प्रहरीले अहिले अपराधी पत्ता लगाउने कार्यलाई तिब्रता दिएको छ । फैसला भएका तर फरार भएका अपराधी पक्राउ गर्ने कार्यलाई तिब्रता दिएको प्रहरीले नयाँ घटनाका दोषी पक्राउलाई पनि प्रभावकारी रुपमा अघि बढाएको छ । यससंगै समाजमा फरक फरक प्रकृतिका अपराधका घटनाहरु पनि दिन प्रतिदिन बढिरहेका छन् । मादक पदार्थ सेवन गर्ने, सवारी ज्यान, हत्या, हिंसा, चोरी, बलात्कार यी त पुरानै प्रकृतिका घटनाहरु हुन् । विज्ञान, प्रविधिमा भएको विकास र इन्टरनेटको प्रयोग बढेसंगै अपराधका स्वरुपमा पनि परिवर्तन आएको देखिन्छ ।
अपराध नियन्त्रणको प्रमुख जिम्मेवारी बर्दीधारी नेपाल प्रहरीकै हो । तर अपराध समाजमै हुने भएकाले अपराधको न्यूनिकरणमा आम नागरिकको भूमिका कम छैन । नागरिक पनि बर्दीबिनाका प्रहरी हुन्, त्यसैले अपराध न्यूनिकरण गर्नु आम नागरिकको पनि दायित्व हो । अपराध अनुसन्धानका लागि कानूनद्वारा अख्तियार प्रदत्त संगठन प्रहरी हो । तर प्रहरी मात्रै सबैथोक होइन, प्रहरीले टेक्ने आधार भनेकै समाज हो । जो कोहीले पनि अपराध र अपराधीलाई लुकाउने, छिपाउने प्रयास गर्नु भनेको आफू र आफै बस्ने समाजलाई असुरक्षित बनाउनु हो ।
अपराध न्यूनिकरणको कर्तव्यबाट नागरिक पन्छिँदा अपराध र अपराधीलाई प्रोत्साहन मिल्छ । त्यसैले समाजमा हुने गरेका साना, ठूला सबै खाले अपराधका घटनाका बारेमा समयमा नै प्रहरीलाई सूचना दिनु आम नागरिकको कर्तव्य हो, जसले समयमा नै अपराध अनुसन्धान गर्न, अपराधी नियन्त्रण गर्न मद्दत मिल्छ । त्यसैले सबैखाले अपराधको जानकारी प्रहरीलाई गराऔँ, आफु र समाजलाई सुरक्षित बनाऔँ ।




