
काम नगर्ने ठेकेदारलाई सहिदलखनले झै सचेत गराऊ
भनिन्छ, ‘पुल्पुल्याएर हुर्काको सन्तानले भविष्यमा दुख पाउँछ ।’ यसको अर्थ हो, जसले सुख, दुख देखेको, भोगेको हुदैन, जसले माया ममता मात्र पाएको छ, उसले जीवनका सुख, दुखसंग जुध्न सक्दैन । त्यसैले जीवन जिउन सिकाउन उसलाई सुख र दुखसंग खेल्न सिकाउनु पर्छ ।
निर्माण व्यवसायमा पनि यो सिद्धान्त लागु हुन्छ । निर्माण व्यवसायीहरुसित राम्रो र सुमधुर सम्बन्ध मात्र कायम गर्दा काम नगर्ने, उल्टै हेप्ने प्रवृत्तिको विकास हुन्छ । त्यसैले काम नगर्ने ठेकेदारहरुसँग बेलाबेला कठोर व्यवहार पनि देखाउनु पर्ने हुन्छ ।
देश विकास नहुनुको कारणमध्य ठेकेदारको लापार्बाहीको हिस्सा धेरै छ । धेरै ठाउँमा भौतिक पूर्वाधार विकास अलपत्र छन् । त्यसका विविध कारणमध्य अधिकांशमा ठेकेदारले काम अलपत्र पारेर छाडेको देखिन्छ ।
सहिद लखन गाउँपालिका वडा नं. १ को वडाकार्यालय बनाउने लक्ष्मी कन्स्ट्रक्शनका ठेकेदार राजकुमार श्रेष्ठले काम अलपत्र बनाएर सम्पर्कबिहिन बने । म्याद थप गर्दा पनि काम नसकेपछि पालिका कार्यालयले उनलाई लिखित मौखिक धेरै पटक ताकेता ग¥यो । तर पछि उनी सम्पर्कबाट बाहिर रहे । अनि केही दिनअघि ‘तपाईलाई कालोसूचीमा किन नराख्ने ?’ भन्ने ब्यहोराको स्पष्टिकरण सोध्यो ।
स्वयं उपस्थित भएर स्पष्टिकरण दिन भनिए पनि ठेकेदार श्रेष्ठले इमेलबाट स्पष्टिकरण दिएको भन्दै पालिकाले त्यसलाई अमान्य भनेको छ ।
काम नगर्ने ठेकेदारको बिगबिगी भइरहेका बेला सहिद लखन गाउँपालिकाले लिएको यो कदम स्वभाविक छ । अरु ठाउँमा काम अलपत्र पार्ने ठेकेदारहरुलाई पनि सम्बन्धित कार्यालयहरुले यस्तो कदम चालेमा उनीहरु सतर्क हुनेछन् र काम गर्नतर्फ लाग्नेछन् । लापार्बाही त गर्छन्, तर कालोसूचीमा पर्न कुनै व्यवसायीलाई पनि मन हुदैैन । यसले उनीहरुको व्यवसायिक जीवनमा ठूलो धक्का लाग्न सक्छ त्यसैले सतर्क भई काम गर्ने ध्याउन्नमा लाग्छन् ।
यहाँ त मध्यपहाडी लोकमार्गको सातदोबाटो खण्ड, बारपाक सडकको चनौटे, ढोडेनी खण्ड, गोपालडाँडा जौबारी सडक, अजुवाखोला पुल जस्ता क्रोनिक समस्याग्रस्त निर्माणको काम छन् । ती ठेकेदारलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु मात्र गरे पनि उनीहरु काम गर्ने ठाउँमा आइपुग्न सक्थे ।




