| सोमवार, कार्तिक २३, २०८३

रेडक्रस गोरखाले आफ्नो साख र गरिमा नगुमाओस्

रेडक्रस मानवीय सेवा गर्ने उद्देश्यले स्थापित एक विशुद्ध अन्तराष्ट्रिय संस्था हो । मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वेच्छिक सेवा, एकता र विश्व व्यापकता रेडक्रस अभियानका सात सिद्धान्तहरू हुन् । सहभागिता, सक्रियता र सदाचारका तीन ‘स’ लाई आदर्शको रुपमा यसले अनुशरण गर्दछ । सामाजिक कार्यका लागि एउटा छुट्टै पहिचान बनाएको गैरनाफामुखी संस्था रेडक्रस गोरखामा भने पटकपटक विवादित बन्ने गरेको छ । आदर्श र सिद्धान्तलाई नै बिर्सिएर रेडक्रस गोरखामा हुने गरेका विवादले संस्थालाई बदनाम गराइरहेको छ ।

पछिल्लो पटक तलवको बिषयलाई लिएर सोमवार संस्थाका कार्यालय प्रमुखले कोषाध्यक्षमाथि हातपात गरेको कुरा बाहिरिएसँगै अहिले संस्था आलोचित बन्न पुगेको छ । संस्थाप्रति आम नागरिकले हेर्ने दृष्टिकोणमा नकारात्मक प्रभाव परेको छ । यसअघि पनि कार्यसमितिलाई जानकारी नगराई केही सीमित व्यक्तिले संस्थाको एम्वुलेन्स काटकुट गरी बेचेको बिषयले संस्था बदनाम हुन पुगेको थियो । त्यस्तै रक्तसञ्चार केन्द्रसंग समन्वय नगरेको विषयले पनि चर्चा पाएको थियो । सोमवारको घटनाले झन् संस्थाका कर्मचारी र कार्यसमिति बीचको दरार र विवाद छताछुल्ल बनाइदिएको छ ।

रेडक्रस गोरखाभित्र धेरै कमी कमजोरीहरु छन् भन्ने कुरा संस्था आफैले पनि स्वीकार गर्नुपर्छ । कार्यसमिति र कर्मचारीहरु बीचको दरार त छर्लङ्ग भइसक्यो । राजनीतिक भागवण्डाका आधारमा कार्यसमितिका पदाधिकारी चयन हुनुले पनि यस्ता विवादहरु उत्पन्न गराउन मद्दत पु¥याइरहेको छ । यो तितो यथार्थलाई नकार्न सकिदैन । पछिल्लो समय संस्थाका कार्यालय प्रमुख अलि धेरै विवादमा मुछिएका छन् । उनी आफैभित्र कमजोरी भएर हो वा कार्यसमितिका कमजोरी कारण हो त्यो बारे संस्था नै बढी जानकार होला । संस्थाको नेतृत्व गर्नेहरुले कुर्ची मात्र ओगट्ने नभई यस्ता विवादहरु आउन नदिन आवश्यक समन्वय र सहजिकरणको भूमिका पनि निर्वाह गरिदिनुपर्छ । सामाजिक कार्यमा अग्रसर रेडक्रस जस्तो संस्था पटक पटक विवादमा आउनु पक्कै राम्रो होइन । संस्थाले आफ्नो साख र गरिमा नगुमाओस् ।

प्रतिक्रिया दिनुहोस्