| सोमवार, कार्तिक २३, २०८३

भेँडागोठालालाई दिल खोलेर प्रोत्साहन गर

युवा पलायनले गाँजेर गाउँघर रित्तिदैछन्, सहरबजार खण्डहर हुदैछन् । यो दृश्यले आउँदो दशकमा देश वृद्धवृद्धाको संग्रहालय बन्ने त होइन, भन्ने शंकाको सुविधा सबले लिएका छन् । सुन्दा स्वैरकाल्पनिक जस्तो लाग्ने, तर रित्तिँदो विद्यालय, कलेज, भरिँदो एयरपोर्ट र विदेश पलायनको यो वेग हेर्दा अब लोकसेवा, शिक्षा सेवा लगायतका आयोग दिने, प्रहरी, आर्मीमा भर्ती हुनेको संख्या पनि मागभन्दा कम हुने त्रास भयो । राजनीति गर्ने, चुनाव लड्ने, विभिन्न उपभोक्ता समितिमा बसेर काम गर्नेहरु पनि नपाइएला भन्ने अनुमान गर्न धेरै गाह्रो छैन ।

परिपाटी नमिलेर देशमा बचेखुचेका युवाहरु पनि बेरोजगारीको चपेटामा छन् । गरिबी, अभाव, तनाबले नागरिकहरु थिचिएका छन् । एकातिर जमिन बाँझिएका छन्, अर्कातिर युवाहरु बेइलम छन् । यो बीचको तादात्य मिलाइदिन सकेमा रोजगारी, स्वरोजगारीको सिर्जना हुने थियो, उत्पादनले आत्मनिर्भरता हुने थियो । गाउँघरको अर्थतन्त्र चलायमान हुनेथियो । यसप्रति जनप्रतिनिधिहरुले बेलैमा सोचुन् ।

चुमनुब्री ३ पाङसिङ गाउँ जिल्लाकै भेँडापालनका दृष्टिले प्रसिद्ध गाउँ हो । यहाँका भेँडीगोठालाहरुका अनुसार एउटा भेँडाको साँडलाई २५ हजार रुपैयाँ पर्छ । बर्षमा आठ दसवटा साँड बेच्न सकियो भने विदेश जानेलाई जित्न सकिन्छ । हाल त्यहाँका करिब ७०, ८० घर परिबारले भेँडापालन गर्छन् । एउटा परिबारले कम्तिमा ५०, ६० वटादेखि तीन, चारसय वटासम्म भेँडा पालन गर्दछन् । भेँडाको साँड बेच्न बजारको कत्तिपनि दुख छैन । बरु बजारको माग पूरा गर्न नै कठिन छ । त्यसैले धेरैभन्दा धेरै भेँडापालनमा गाउँलेहरु जोड गरिरहेका छन् ।

यसले उनीहरुमा स्वरोजगार सिर्जना गरेको छ । विदेशिनबाट बचेका छन् । उनीहरुको यो कामलाई उदाहरण देखाएर जनप्रतिनिधिले अरुलाई पनि स्वरोजगार बनाउन प्रोत्साहन गर्नुपर्छ । र यहाँका भेँडा गोठालाहरुलाई सो व्यवसाय प्रवद्र्धन गर्न यथासक्य प्रोत्साहन गर्नुपर्छ । तल्लो भेगमा कागज बनाएर मात्र सरकारी अनुदान लिने गैरकिसानहरुको बिगबिगी छ । त्यहाँ बास्तविक व्यवसायीलाई दिल खोलेर प्रोत्साहन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्