| सोमवार, कार्तिक २३, २०८३

उद्योगी, व्यापारी, व्यवसायीलाई प्रत्यक्ष प्रभाव पर्ने कार्यक्रम ल्याऊ

गोरखा उद्योग वाणिज्य संघले शनिबार ४८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले कृषि, पर्यटन र व्यापारका क्षेत्रमा कार्यक्रम गर्दा संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारसंग समन्वय, सहकार्य गरी अघि बढ्ने निर्णय गरेको छ ।

उद्योग वाणिज्य संघ भनेको व्यापारी, व्यवसायीको छाता संस्था हो । नेपालको सन्दर्भमा नीजि क्षेत्रको सबैभन्दा ठूलो अभिभावक संघ पनि हो । आर्थिक मामलाका विषयमा सरकारले समेत यो संघलाई साथ लिएर अघि बढ्ने गर्छ ।

केन्द्र तहमा मात्र होइन, प्रदेश र जिल्ला तहमा हुने कुनै पनि आर्थिक सरोकार राख्ने विषयमा उद्योग वाणिज्य संघको साथ र सहयोग रहने गर्छ । त्यसैले नीजि क्षेत्रहरुमध्य उद्योग वाणिज्य संघको महत्व अहम् छ । उसले तय गरेको कार्यक्रम कुनै पनि तहको सरकारले अनुमोदन गर्ने सम्भावना प्रबल हुने गर्छ ।

यो सन्दर्भमा अहिले गोरखा उद्योग वाणिज्य संघले लिएको निर्णय अर्थपूर्ण छ । अहिले महासंघ माताहत देशका अधिकांश स्थानीय तहस्तरीय उद्योग वाणिज्य संघका इकाइहरु गठन भइसकेका छन्। गोरखामा पनि बारपाक सुलीकोट र चुमनुब्रीबाहेक नौ वटै तहमा इकाइहरु गठन भएका छन् ।

गाउँपालिकादेखि केन्द्रतहसम्मका व्यापारी व्यवासयीको नेतृत्व गर्ने संघले उद्योगी, व्यापारी तथा व्यवसायीहरुको सर्वाधिक हित हुने कार्यक्रम तय गरेर प्रस्ताव गरेमा स्वीकृति पाउने र त्यस्ता कार्यक्रमले सबैको हित गर्ने अबस्था रहन्छ ।

यदाकदा औपचारिकता पूरा गर्ने तालिमका कार्यक्रम मात्र गर्ने, जसको कुनै उपादेयता पनि नहुने अभ्यास बिगतमा नदेखिएको होइन । तालिम नै सञ्चालन भए पनि व्यवसायीको सर्वाधिक आवश्यकता पहिचान हेरी छनौट गर्नुपर्छ, जुन तालिम लिएर दक्ष जनशक्तिको प्रयोगले बहुसंख्यक उपभोक्ताको मागको सम्बोधन गरोस् ।

प्रतिक्रिया दिनुहोस्