
निस्सा वितरणको शुभ संकेत
भनिन्छ नि, ‘भोकोले भन्छ डाँडावारि खाउँ, अघाएकोले भन्छ डाँडापारि खाउँ ।’ त्यस्तै भएको छ, भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई । उनीहरुलाई छिटोभन्दा छिटो जग्गाको लालपूर्जा चाहिएको छ ।
कैयौँ भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीले बिना जग्गा, बिना लालपूर्जा पुस्तौँ काटिसके । कतिपयले आफूले उपभोग गरेको घर, जग्गाको लालपूर्जा नपाएरै जुग बिताएका छन् । यथासक्य छिटो लालपूर्जा वितरण गर्नुपर्ने खाँचो उनीहरुमा महशुस भएको छ । तर उनीहरुमा जत्तिको हतार अरुमा नभएको हुनसक्छ ।
लामो समयको कसरतपछि गोरखाको धार्चे गाउँपालिकाले बल्ल वडा नं ४ लाप्राकका अब्यवस्थित बसोबास गरेका ४० घरधनीलाई निस्सा (जग्गा प्राप्त गर्ने प्रमाणपत्र) वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले मंगलबार एक कार्यक्रम गरी ४० परिबार अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरेका हुन् । यसअघि गाउँपालिका वडा नं १ हुल्चुकमा भूमिहीन दलित र सुकुम्बासी गरी १३ जनालाई निस्सा वितरण गरिएको थियो ।
लाप्राकमा भूमिहीन दलित, भूमिहिन सुकुम्बासी छैनन् । अव्यवस्थित बसोबासी अर्थात लामो समयदेखि लालपूर्जा नभएको जग्गामा बसोबास गर्नेहरु मात्र छन् । उनीहरुलाई लालपूर्जा दिनका लागि अहिले निस्सा वितरण गरिएको हो । अब अन्तिम तयारी पूरा भएपछि लालपूर्जा पनि वितरण हुनेछ । त्यसपछि ४० घर परिबारको लामो समयदेखिको समस्या समाधान हुनेछ ।
यस्तो अबस्था अन्य पालिकाहरुमा पनि छन् । ती पालिकाहरुले पनि चाँडोभन्दा चाँडो गृहकारी गरी निस्सा र लालपूर्जा वितरणको तयारी गर्नुपर्छ । उनीहरुलाई अब कार्यपालिकाले निर्णय गरेर मालपोत कार्यालय, नापी कार्यालयबाट प्राविधिकहरु फिल्डमा जग्गाको नापजाँच गरी छिट्टै जग्गा वितरण गर्ने कार्य अघि बढ्ने उनले बताए ।
यस्तै अव पालिकाकाभित्रका सबै वडामा पुस महिनाभित्र निस्सा वितरण गर्ने तयारीमा रहेको पनि उनले जानकारी दिए ।
अरु पालिकाहरुले पनि छिटोभन्दा छिटो आन्तरिक तयारी पूरा गरी निस्सा तथा लालपूर्जा नै वितरण गर्नेतिर लाग्नुपर्छ ।




