| सोमवार, कार्तिक २३, २०८३

राष्ट्रपति रनिङशिल्ड विद्यार्थीको खेलकुद विकासको आधारस्तम्भ

अहिले गोरखाका अधिकांश स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताहरु सम्पन्न भइसकेका छन् । यति बेला सबै पालिकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हर्ष उत्सवका रुपमा आयोजना गरेर सम्पन्न भए । गोरखा नगरपालिकामा आज सम्पन्न हुदैछ ।

पालिकाको सम्पन्न भएपछि छानिएका खेलाडीहरुका बीच जिल्ला स्तरको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुनेछ । त्यसको पनि मिति तोकिइसकेको छ ।

विद्यालय भनेको हरेक बालकमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने थलो हो । दिनहूँ पठनपाठन नियमित प्रक्रिया हो । यसले ज्ञान आर्जनको काम हुन्छ । त्यसको अलवा खेलकुद, सांस्कृतिक कार्यक्रम, सामान्य ज्ञानका कार्यक्रमहरु पनि बेलाबेला हुने गर्छन् । यसले विद्यार्थीमा अतिरिक्त सीपको विकास गर्ने गर्छ । साथै अन्तरमुखी स्वभाव भएकाहरुलाई बाह्य वातावरणमा घुलमिलको वातावरण बनाउँछ । साथी संगतिहरुसंगको सम्बन्ध, सम्पर्कको विस्तार र विकास हुने गर्छ ।

अहिले राष्ट्रपति रनिङ शिल्ड भनेर आयोजना गरिने खेलकुद प्रतियोगिता राजतन्त्र रहँदाको अबस्थामा वीरेन्द्र शिल्ड खेलकुद प्रतियोगिता भनेर आयोजना हुन्थ्यो । यस्ता प्रतियोगिताले बालकमा अन्तरनिहित सीपलाई निखारता दिने, विद्यालयस्तरबाट उठाएर पालिका स्तरमा चिनाउने, पालिका स्तरबाट उठाएर जिल्ला स्तरमा पु¥याउने र जिल्लास्तरबाट उठाएर प्रदेश तथा राष्ट्रिय खेलाडीका रुपमा स्थापित गर्ने अवसर पनि दिलाउँछ ।

सबै बालबालिका पढेर निजामती सेवा, शिक्षा सेवा लगायतका सरकारी जागिरमै जान्छन् भन्न सकिँदैन । भिन्न भिन्न बालबालिकामा भिन्न भिन्न क्षमता र रुचि हुन्छन् । विद्यालय जीवन सकेपछि आफ्नो दख्खल र रुचि भएको क्षेत्रमा लाग्छन् । त्यसको एउटा बलियो क्षेत्र खेलकुद पनि हो । त्यसको आधार बनाउने काम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताले तयार गर्नेछ ।

जीत हार फरक कुरा हो, समग्रमा राष्ट्रपति रनिङ शिल्डले बालबालिकामा निहित खेलकुदसम्बन्धी प्रतिभाको विकास गरेर व्यवसायिक खेलाडी बनाउन मद्दत गरोस् ।

प्रतिक्रिया दिनुहोस्