| सोमवार, कार्तिक २३, २०८३

स्थानीय उत्पादन बढाऔँ, परनिर्भरता घटाऔँ,

विश्लेषक सौरभ ‘असंगति’ पुस्तकमा ‘लहरा’ उपशीर्षक दिएर लेख्छन्, ‘लहराहरुले खाडीमा भेँडा चराएर पठाएको रेमिट्यान्सले लहरीहरुले यहाँ भाटभटेनी सुपरमार्केटमा वाइन किन्छन् । वाइन किनेको रेमिट्यान्स फेरि घुमिफिरी खाडीकै वाइन कम्पनीमा पुग्छ ।’ स्थानीय उत्पादनले मुलुक आत्मनिर्भर नभएसम्म हरेक कुराका परनिर्भरता कायम रहन्छ भन्ने उनको निश्कर्ष छ ।

अहिले नेपालमा सबका सब विदेशबाट आयात हुने गर्छ । करेसाबारी पनि बाँझा छन् । गाउँघरमा तरकारी पनि बजारबाट जाने गर्छ, बजारमाचाहिँ विदेशबाट । खाद्यान्न त यसै आयात हुन्छ । आयात घटे भोकमरी लाग्ला जस्तो अबस्था छ । लसुन, प्याज, गोलभेँडा पनि विदेशीले निर्यात घटाए भने यहाँ आन्दोलन गरुँला झैँ गर्छन् ।

हरेकको भान्सामा भारतबाट आएको भात पाक्छ । भारतीय भात खाँदै नेपालीहरु भारतलाई नै सराप्छन् । भारतलाई जति सराप्न सक्यो, त्यति नै राष्ट्रवादी कहलाउने प्यास छ । अब राष्ट्रवादीको प्रतियोगिता मित्रराष्ट्रलाई सरापेको आधारमा होइन, स्थानीय उत्पादन बढाउन सक्ने कि नसक्ने भन्नेलाई आधार बनाउनु पर्छ ।

यसैबीच बारपाक सुलीकोट गाउँपालिकाले स्थानीय उत्पादन बढाउन विभिन्न कार्यक्रम गरेको छ । बाँझो जग्गामा आवाद गर्नेेलाई प्रोत्साहन गर्ने, प्याजको बिरुवा बाँड्ने, आलु ब्लक कार्यक्रम सञ्चालन गर्ने, रैथानेबाली कोदोलाई प्रवद्र्धन गर्ने कार्यक्रम गरिरहेको सो गाउँपालिकाले यसपटक आलुको बिउ उत्पादन गर्ने कार्यक्रम सञ्चालन गरेको छ ।

उन्नत जातको बिउआलु उत्पादन गर्न पालिकाले यसपटक बारपाक सुलिकोट गाउँपालिका ६ साविक ताकुकोट गाविसस्थित पोखरीगैरामा व्यवसायिक रुपमा आलुको बीउ उत्पादनका लागि बीउ आलु उत्पादन कार्यक्रम सुरु गरेको छ ।

गाउँपालिका र ताकुकोट कृषिसहकारीको लागत साझेदारीमा बीउआलु उत्पादन कार्यक्रम सुरु गरेको हो । यसबर्ष साढे पाँच रोपनी क्षेत्रफलमा जनकदेव र एमएस बयालिस गरी दुई जातका १८ हजार आलुको दाना रोपिएको छ । यसको नतिजा सकारात्मक आए सो पालिकामा आलु प्रवद्र्धन कार्यक्रमले थप नयाँ मोड लिनेछ । आलुको बिउका लागि कसैको भर पर्नुपर्ने बाध्यता रहँदैन ।

प्रतिक्रिया दिनुहोस्