
बर्खामा गाउँ बग्न नदिन हिउँदमै सुरक्षित स्थानान्तरण गराउनुपर्छ
भूकम्पअघि र भूकम्पपछि पनि गोरखाका धेरै गाउँबस्ती पुनस्थापन गर्नुपर्नेको सूचीमा थिए र अहिले पनि छन् । लाप्राक बस्तीलाई २०५६ सालको पहिरोपछि नै सुरक्षित स्थलमा पुनस्थापित गर्नुपर्छ भनेर सिफारिस गरिएको थियो । भूकम्पपछि पनि सो बस्तीलाई पुनस्थापित गर्नुपर्छ भनेर गुप्सीपाखामा करिब छसय घर निर्माण गरियो । तर बस्ती पुनस्थापित भएको छैन ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार पहिरोको जोखिमका कारण पुनस्थापना गर्नुपर्ने घरधुरीको संख्या गोरखामा एकहजार दुईसय ६१ थिए ।
लाप्राकको छसय १६, केरौंजाको चारसय १५, खानीगाउँको एकसय १३, बारपाक सुलीकोट गाउँपालिका १, २ र ३ को ५७, चुमनुब्री ३ देवलको २४, अजीरकोट ५ को ३४, आरुघाट र उहियाको एकएक घर पहिरोको जोखिममा रहेकाले कार्यालयले पुनस्थापनाको सूचीमा राखेको थियो ।
कार्यालयका अनुसार केरौंजाका दुईसय ६९, देवलका १८, बारपाक सुलीकोटका २२ र अजीरकोटका ३१ घरधुरी मात्र अन्यत्र पुनस्थापित भएका थिए ।
यो तथ्याङ्क भूकम्पसंग सम्बन्धित हो । त्यसपछि पनि पहिरोका कारण धेरै घरधुरी जोखिममा छन् । उनीहरुलाई पुनस्थापित गर्नुपर्ने टड्कारो अबस्था छ ।
जस्तो चुमनुब्री गाउँपालिकाको छुले गाउँका करिब ४० घर, सिर्दिबासको देबल करिब ६५ घरधुरी, आरुघाट गाउँपालिका १ श्यामचेत, धार्चे ७ खानीगाउँका घरहरु अन्यत्र पुनस्थापना गर्नैपर्ने अबस्थामा छन् ।
पहिले गाउँ सरकार थिएन, सबै केन्द्र सरकारले गर्नुपर्ने अबस्था थियो । अहिले गाउँ सरकार भएकाले आफ्नो पालिकाभित्र पुनस्थापना गर्नुपर्ने घरधुरी कति छन् ? कहाँ पुनस्थापित गराउने आदिबारे यकिन तथ्यांक निकाल्न सहज छ ।
हिउँदभरि शान्त भए पनि ती गाउँबस्ती बर्खा लागेपछि पहिरोले त्रस्त हुन्छन् । भागाभाग हुन्छ । त्रिपालभित्र बस्न पुग्नुपर्ने हुन्छ । बर्खामा बिचल्ली हुन नदिन ती गाउँबस्तीलाई हिउँदको दिनमै सुरक्षित स्थलमा पुनस्थापित गराउनु पर्छ ।




