
मध्यपहाडी लोकमार्गको कामलाई तिव्र गतिमा अघि बढाउ
पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत गोरखा खण्डको काम निकै सुस्त छ । बिभिन्न वहाना बनाउँदै निर्माण कम्पनीहरुले काममा ढिलासुस्ती गर्दै आएका छन् । संकल्प यात्राको क्रममा गोरखा आएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत मध्यपहाडी लोकमार्गको गोरखा खण्डको यात्रामा निकै सास्ती भोग्नुपरेको बताए थिए ।
१६ किलोमिटरको यात्रा एक सय किलोमिटर भन्दा बढी लागेको भन्दै उनले व्यंग्य समेत गरे । उनले भनेजस्तै मध्यपहाडी लोकमार्ग अन्तरगत गोरखाको खण्डमा यात्रा जोखिम नै छ । कतिपय ठाउँमा काम नै भएका छैनन् भने कालोपत्रे भएका सडकहरु पनि भत्किन थालिसकेका छन् । यसले मध्यपहाडी लोकमार्गको यात्रालाई जोखिमपूर्ण बनाएको छ भन्दा फरक नपर्ला ।
मध्यपहाडी लोकमार्ग एक रणनीतिक सडक हो । यो सडकसँगै स्वास्थ्य, शिक्षा, कृषि, रोजगार लगायतका क्षेत्र पनि जोडिएको छ । पहाडी जिल्लाको बिकासको मुख्य मेरुदण्डको रुपमा रहेको यो सडकको काममा ढिलासुस्ती हुनु जिल्लाका लागी मात्र होइन समग्र राष्ट्रकै लागी घाटाको बिषय हो । सो सडकमा हुने यात्राको सकस त्यही क्षेत्रमा आउजाउ गर्नेलाई मात्र थाहा छ । योजनाहरु शुरु गर्ने तर अलपत्र पार्ने यस्ता प्रवृति जिल्लामा हावी हुनुले जिल्लाको बिकासको गतिमा अवरोध समेत पु¥याइरहेको छ ।
सम्बन्धित निकायले पनि अनुगमनलाई तिव्रता दिने, योजनाहरु समस्याग्रस्त बनाउने निर्माण कम्पनीलाई कारवाही गर्ने हिम्मत राख्नुपर्छ । होइन भने बिकासका यस्ता धेरै योजना जिल्लामा अलपत्र पर्नेछन् । आर्थिक समृद्धिमा समेत यसको प्रत्यक्ष असर पर्ने छ । पर्यटन प्रवद्र्धनको सम्भावना समेत बोकेको यस मध्यपहाडी लोकमार्ग निर्माण कार्यलाई तिव्र रुपमा अघि बढाउनु आवश्यक देखिन्छ ।




