
बिचौलियादेखि सावधान
केही समयअघिसम्म जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र अदालतको गेट वरिपरि बिचौलियाको बिगबिगी हुनेगथ्र्यो ।
सानोतिनो झगडा भएका झगडियालाई पनि आगोमा घ्यू थपेझै राग बढाएर गाउँघरबाट प्रहरी कार्यालय, प्रशासन वा अदालतसम्म ल्याइपु¥याउने, यहाँ ल्याइपु¥याएपछि मिलापत्रको च्याखे थापी मोटो रकम लिएर मिलापत्र गराउने गर्थे । ‘माथिसम्म सेटिङ मिलाउनु पर्छ’ भन्ने स्वाङ पारी वादी, प्रतिवादीसंग मोटो रकम कुम्ल्याउनेहरु ती कार्यालय वरिपरि घुमिरहन्थे ।
त्यस्ता बिचौलियाहरु प्रहरी, प्रशासन वा अदालतको गेट वरिपरि घुमिरहने, परिचित, अपरिचित वादी, प्रतिवादीको मुद्दा–मामिलाबारे गन्ध सुँघ्ने र त्यसलाई किनारा लगाउन यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भन्ने फुँदा गाँसी रकम असुल्ने वातावरण बनाउने गर्थे । नचिनेका पिडित, पिडक आए भने पनि आउनु पर्नाको कारण सोधखोज गरी सहयोग गर्ने नाउँमा उनीहरुको मामलामा घुस्ने गर्थे ।
बिचौलियाहरु प्रशासन कार्यालयको नागरिकता, राहदानी फाँटको ढड्डा पल्टाउनसम्म पनि पुग्थे । बाहिर जिल्लाबाट फ्याक्स मगाउने भन्दै एउटा फ्याक्स मगाएको तीनहजार रुपैयाँसम्म असुल्थे ।
प्रहरी कार्यालयमा मुद्दा दर्ता गराउन, नगराउन, मिलापत्र गराउन, जिताउन वा हराउनमा मद्दत गर्ने भन्दै राम्रै धन्दा गर्थे । अदालतमा पुगेको मुद्दामासमेत विभिन्न जालझेल गर्ने, गराउने, न्यायधीशसम्म पहुँच भएको भन्दै मोटो रकम असुल्थे ।
अचाक्ली भएपछि अथवा कुशल नेतृत्व आएपछि फरक फरक समयमा ती कार्यालयहरुबाट बिचौलियाहरु गायब भए । बिचौलियाको बिगबिगीपछि त्यतिबेला प्रहरी कार्यालयको मूलगेटमा लेखिएको ‘बिचौलियाहरु प्रवेश निषेध’ भन्ने बोर्ड अहिलेसम्म पनि देख्न सकिन्छ ।
त्यसपछि ती कार्यालयहरुमा बिचौलियाको काम गरेर रोजगारी चलाएकाहरु कार्यालयको कडा निगरानीपछि विदेशिनसमेत बाध्य भएका थिए ।
ती अनुहारहरु अचेल फेरि तिनै कार्यालय वरिपरि दिनहूँजसो देखा पर्न थालेका छन् । पिडितका आफन्त भन्दै, मुद्दा लेखाइदिने, दर्ता गराइदिने भन्दै, मिलापत्र गराइदिने वा मिलापत्र गर्न नहुने भन्दै उनीहरु भिन्नभिन्न केसमा जोडिएर प्रहरी कार्यालयको गेटवरिपरि देखिन थालेका देखिन्छन् ।
त्यस्ता गतिविधिप्रति सम्बन्धित निकायले निगरानी बढाउनु आवश्यक छ ।




