| सोमवार, कार्तिक २३, २०८३

गोरखा बजारमा चौडा सडकको जरुरत

सवारी चापले दिनानुदिन गोरखा बजार साँगुरो भएको महशुस हुन थालेको छ । त्यतिबेलाको आवश्यकता परिपूर्ति गर्न ३० को दसकमा निर्माण गरिएको सडक ५० बर्ष पुग्न लाग्दा पर्याप्त हुने कुरै भएन ।

खास खास समयमा विशेषगरी हरमटारीचोक, चालिसेचोक तथा पुरानो बसपार्क धेरै व्यस्त रहन्छ । गाडीको क्षमता भन्दा सडक साँगुरो भएकाले जाम र तनाबको सामना गरिरहनु परेको छ ।

अहिले सार्वजनिक र नीजि सवारी साधनको संख्या बढेको छ, तर सडकको चौडा ३० को दसकमा जत्रो थियो, त्यत्रै छ । त्यसैले जाम हुने, हर्नको ट्याँट्याँटिँटीले सर्वसाधारण नागरिक, स्थानीय व्यापारीहरुलाई हैरान पार्ने गरेको छ ।

यस समस्यालाई समाधान गर्न सडक चौडा गर्नु जरुरी छ । त्यति मात्र होइन, नाला व्यवस्थित छैन । फुटपाथ व्यवस्थित छैन । यसले नगरको शोभा घटाइरहेको छ । यी सबै समस्या समाधान गर्ने गरी नगरपालिकाले अहिले गोरखा बजारभित्रको सडक चौडा बनाउने र फुटपाथ व्यवस्थित गर्ने योजना बनाएको छ ।

सो कामका लागि नगरपालिका अहिले सर्भेको चरणमा छ । सर्भेबाट तयार गरिएको खेस्राको आधारमा विस्तृत परियोजना प्रतिवेदन तयार गरी सोही प्रतिवेदनको मार्गनिर्देशनमा अरु योजना अघि बढाउने नगरपालिकाको तयारी छ ।
कतिपय ठाउँमा फुटपाथ भन्नु मात्र छ, हिँड्न मिल्दैन । कतिपय ठाउँमा फुटपाथमा पसलका सामान थुपार्दिनाले यात्रु सडकबाट हिँड्नु परेको अबस्था छ । फुटपाथमा पसलका सामान नराख्न नगरपालिकाले बारम्बार आग्रह गर्दा गरिरहेको छ ।

प्रहरीले त्यस्तो गरे कारबाही गर्ने भनेर पूर्व सचेतना गराइरहेको छ, तर फुटपाथमा सामान राखेर बेच्ने काम यथावत छ ।
अब नगरपालिकाले फुटपाथ र सडकको योजना अघि बढाएको छ । यसले तिब्रता पाओस, यथासीघ्र गोरखा बजारभित्रको सडक फराकिलो बनोस्, फुटपाथ स्वच्छ, सफा बनोस् ।

प्रतिक्रिया दिनुहोस्