| सोमवार, कार्तिक २३, २०८३

ऋण नतिर्ने लाजमर्दो अभियानको पछि लाग्नु बेकार

खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरूका जगमा
त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ,
त्यसैले यो हल्लै हल्लाको देश हो
यो हल्लै हल्लामाथि उभिएको देश हो
– भूपी शेरचन

भूपीको यो कविताजस्तै नेपालमा सँधै कुनै न कुनै व्यर्थ हल्ला चलिरहन्छ । काम कम, हल्ला धेरै हुने नेपालमा अहिले एउटा हल्लाले चर्चा पाएको छ कि, साहुसित वा वैँक(लघुवित्त)बाट ऋण लिएर पनि तिर्नुपर्नेछैन । ऋण नतिर्ने अभियानलाई जतिसक्दो बुलन्द बनाउन सक्यो, त्यति ऋण तिर्नु नपर्ने सम्भावना धेरै हुन्छ भन्ने मनोविज्ञानले बिहिबार काठमाडौँमा ठूलै भीड लाग्यो ।

लिएको ऋण तिर्नु नपर्ने अभियान अराजक मात्र होइन, अनैतिक पनि हो । ऋण तिर्नुपर्दैन भन्ने धरातलबाट उठेको यो अभियानमा समय क्रममा अन्य हाँगाविँगा पलाउन थालेका छन् । र सो भीडमा समय क्रममा विभिन्न स्वार्थ समूहरु जोडिन आइपुगेका छन् ।

बिहिबार राजधानीमा आयोजित हुलदंगामा गोरखाबाट पनि विभिन्न तीन समूहहरुले साथ दिए । ऋण तिर्नुपर्दैन भन्ने बद्नियत बोकेकाहरु, राजतन्त्र व्युँताउनु पर्छ भन्नेहरु र सो भीडको प्रतिवाद गर्नुपर्छ भन्नेहरु गरी करिब डेढसय जनाजति गोरखाबाट सहभागी भएका थिए ।

व्यक्तिले लिएको ऋण राज्यको एकबर्षको सबै बजेट खर्च गरेर सरकारले तिरिदिनुपर्छ भन्ने बेतुकको माग राख्नेहरुले हुलदंगाको नेतृत्व गरिरहेका छन् । राजतन्त्र व्युँताउने अभियानमा पूर्व राजा स्वयं प्रत्यक्ष देखिएका छैनन्, तर वर्तमान शासन व्यवस्थाबाट वितृष्णा जागेकाहरु राजतन्त्र व्युँताउने भन्दै सोही हुलदंगामा मिसिएका छन् ।

वर्तमान राजनीतिमा आशा लाग्दा नेता कोही देखिएनन् । राज्य सत्तामा रहेकाहरु भ्रष्टाचारमा लिप्त भएको देखिएको सत्य हो । तर यसको बिकल्पमा लोकतान्त्रिक शासन व्यवस्था मासेर अधिनायकवादी शासन व्यवस्था स्थापित गर्नुपर्छ भन्ने माग जायज छैन । यी दुवै खाले अभियान आत्मरतिका उपज हुन् ।

यसमा अर्को पक्ष पनि उत्तिकै महत्वपूर्ण छ । हुलदंगा नियन्त्रण गर्ने राज्यको दायित्व हो, कुनै पार्टीको युवाशक्तिको होइन । यसले दन्किरहेको अराजक आगो निभाउने होइन, घ्यू थप्ने काम मात्र गर्छ ।

प्रतिक्रिया दिनुहोस्