| सोमवार, कार्तिक २३, २०८३

अपांगता भएकालाई सशक्तिकरणको महत्व

केही बुज्रुकहरु पहिले भन्दा अहिले मुलुक ओह्रालो लागेको तर्क गर्छन् । उनीहरु तर्क पुष्टि गर्ने केही थान उदाहरणहरु पनि पेश गर्छन् । पहिले भन्दा अहिले मुलुक गए गुज्रिएको प्रमाणित गर्न केही थान उदाहरण मात्र पर्याप्त छैन ।

समय परिवर्तित छ, बिगत भन्दा धेरथोर विकसित छ । दुबई र नेपालको विकासको आरम्भ संगसंगै भएको हो । दुबईको उन्नति कछुवा गतिमा भयो, नेपालको खरायो गतिमा । त्यो आफ्नै ठाउँमा छ, तर बिगतभन्दा अहिले विकास भने अवश्यै भएको छ ।

बिगतमा कुष्ठरोग आएकालाई गाउँबाट पर्गेल्थे । कतै रुखको फेदमा फरिकोले बारेर राख्थे । त्यतातिर फर्कन पनि हुन्न भन्ने अन्धविश्वास थियो । बिना उपचार गुज्रिएका उनीहरु अपवादबाहेक अधिकांशको मृत्यू हुन्थ्यो । हैजा लगायतका महामारी लागेको परिबार वा गाउँबस्तीको अबस्था यस्तै हुन्थ्यो । अपांगता भएका नागरिकको जीवन पनि उपेक्षामा बित्थ्यो । महिला पुरुष बीचको भेदभावको खाडल धेरै गहिरो थियो । खानेपानीसमेत अलग अलग हुन्थ्यो ।

तर अहिले अबस्थामा धेरै सुधार आएको छ । अपांगता भएकाहरु पनि अरु नागरिक सरह समान हैसियतमा बाँच्न पाउनु पर्छ भनेर राज्यले नै सुनिश्चितता गरेको छ । अरु सरह बनाउनका लागि आरक्षण तथा अन्य सुविधाहरु उपलब्ध गराएको छ । गैरसरकारी तबरबाट पनि पछाडि पारिएका समुदायलाई माथि उठाउन धेरै कार्यक्रमहरु सञ्चालन हुने गरेका छन् ।

गोरखाका दृष्टिविहिन भएकाहरुलाई खाना बनाउने तालिम दिएर सशक्तिकरण गर्ने प्रयास गरिएको एउटा सानो उदाहरण मात्र हो । यही सानो प्रयत्नले पनि उनीहरुमा धेरै आत्मबल बढेको हुन्छ । हामी पनि सबलाङ्गभन्दा कम छैनौँ भन्ने मनोबल यसले बढाउँछ ।

कसैलाई विकास गर्न नगद सहयोग गर्नुपर्छ भन्ने छैन, शिक्षित गराउने, सचेतना बढाउने, सशक्त बनाउने, सबलीकरण गर्ने, सही मार्गदर्शन दिने कामले नै उनीहरुको जीवनस्तर माथि उठाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्