
खेताला शिक्षकको व्यवस्था खारेज गर
भनिन्छ नि, ‘जो होचो, उसकै मुखमा घोचो’, अथवा यसैसंग मिल्दो अर्को नेपाली शव्द पनि छ, ‘जहाँ पातलो, त्यहीँ छेँड’ ।
जहाँ भूगोलले ठगेको छ, त्यहाँ अनेक समस्या आइपर्छन् । दुर्गम ठाउँको प्राकृतिक सौन्दर्य अद्वितीय हुन्छ । मान्छेहरु धर्म, मानवता, निष्ठा, मानप्रतिष्ठा, इज्जत, जोगाएका र असल नियतका हुन्छन् । तर उनीहरुमाथि धेरै दुख, कष्ट र हिमालमाथि थुप्रिएको हिउँसरी समस्याको भारी हुन्छ ।
गोरखाकै दुर्गम भेगको कुरा गर्नुपर्दा त्यस भेगका बासिन्दाहरुका लागि सडक त छैन, हिड्नका लागि सुरक्षित बाटो पनि छैन । शिक्षाको विकास छैन । एकाधबाहेक ठाउँमा विद्यालय नै छैन, विद्यालय भए पनि विद्यार्थी नै छैनन्, विद्यार्थी भए पनि शिक्षक छैनन् ।
चुमनुब्री ७ को छेकम प्राविमा दुई शिक्षक छन्, विद्यार्थी पाँचसात जना मात्र छन् । वुद्ध आधारभूत विद्यालय छेकम्पारको अबस्था अझै अरुभन्दा फरक छ । त्यहाँ विद्यार्थी करिब ३० जना छन्, शिक्षक तीनजना छन् । एकजना शिक्षक कहिल्यै विद्यालय आउँदैनन् । आफ्नो आधा तलब दिएर मान्बुतिरकी एक व्यक्तिलाई आफ्नो साँटो खेताला शिक्षक राखेका छन् । आफू काठमाडौँतिर व्यापार, व्यवसाय गरी बस्छन् ।
जसो गरे पनि सो गाउँपालिकाको शिक्षा शाखा तथा जनप्रतिनिधिले वास्ता गरेको छैन । गुनासो आएपछि वा उजुरी परेपछि मात्र त्यसप्रति कारबाही प्रक्रिया अपनाउने शिक्षा शाखाको भनाइ छ ।
खेताला शिक्षक राख्ने चलन यसअघि अरु जिल्लाहरुमा पनि थियो । समाचार प्रकाशन, प्रशारण भएपछि सरकारले सबै जिल्लामा कडाइका साथ खेताला शिक्षक राख्न नपाउने नीति निर्माण गरी खेताला शिक्षक निर्मूल गरेको झै गरेको थियो । तर गोरखाको सो विद्यालयमा भने अहिलेसम्म पनि खेताला शिक्षक रहनु भनेको लज्जास्पद हो । यस्तो व्यवस्था गाउँ शिक्षा कार्यालयले खारेज गर्नुपर्छ ।




