
भूकम्पका बेला गोरखाबासीलाई लागेको राहतको ऋण तिर्ने बेला आएको छ
भनिन्छ नि, विपद् बाजा बजाएर आउँदैन । बिपद्बाट पिडित हुने कहिले कसैको पालो, कहिले कसैको ।
जतिबेला गोरखाको बारपाक केन्द्रविन्दू भएर भूकम्प गएको थियो । ४७२ भन्दा धेरै जनाको मृत्यू भएको थियो । पाँचसय भन्दा धेरैजना घाइते भएका थिए । करिब ६० हजार घर क्षतिग्रस्त भएका थिए । चारसयभन्दा धेरै विद्यालय, करिब ५० वटा जति स्वास्थ्य संस्था क्षतिग्रस्त भएका थिए ।
त्यो बेला थियो, जतिबेला गोरखाबासी रंगशाला, टुँडीखेल, विद्यालयको चौर, तत्कालीन जिविसको आँगन आदिमा त्रिपाल टाँगेर बस्न बाध्य थिए । त्यतिबेला दिनमै सयभन्दा धेरै परकम्पहरु आउँथे । जनधनको क्षति, डरत्रास, अभाव, समस्यामा दिन कटाइरहेका बेला गोरखाबासीलाई सम्झेर धेरै सहयोगी मनहरु राहत सामग्रीहरु लिएर आउने गर्थे ।
त्यतिबेला पीडित जिल्लाबाहेक देशका सबै जिल्लाबाट राहत सामग्रीको ऋण गोरखाबासीले बोकेका छन् । त्यहाँका धेरै संगठित सामाजिक संस्था र असंगठित व्यक्तिहरुको सामुहिक पहलमा पनि राहत सामग्री आएको थियो । यतिसम्म कि कुनैकुनै तुल ब्यानरमा फुटपाथ व्यवसायी संघ जस्ता अति न्यून आय हुने संस्थाहरुले पनि राहत सामग्री लिएर गोरखाबासीलाई सम्झेर आएका थिए ।
गाउँमा बासबिहिन भएर बसेकाहरुलाई त्यतिबेला राहत सामग्री थमाइदिँदा ‘हामीलाई धेरै धेरै ऋण बोकाउनु भयो, हामी कहिले तिर्ने यो ऋणको भार ?’ भनेर कैयौँ सिदासादा वृद्धवृद्धाहरुले भन्ने गरेको सुनिन्थ्यो ।
अहिले त्यतिबेलाको ऋण तिर्ने बेला आएको छ ।
उहीँ पुगेर पिडितको हातमा सहयोगी सामग्री राखेर मन आनन्द गर्न सबलाई मन छ । तर यो सम्भव छैन । जाजारकोट, पश्चिम रुकुम जिल्ला नजिकको जिल्ला पनि होइन, त्यसैले सीमित संस्थाहरुले राहत सामग्री संकलन अभियान सञ्चालन गर्ने, र अरुले आत्मालाई शान्ति हुने गरी सहयोग सामग्री वा नगद हस्तान्तरण गर्न सकिन्छ । यसमा ढिला नगरौँ । ठूला संस्थाहरुले अभियान सञ्चालनको अगुवाई गरौँ ।




