| सोमवार, कार्तिक २३, २०८३

कित्ताकाट खुलाउन किन ढिलाइ ?

राजनीति र समाजसेवा सापेक्षी क्षेत्र हुन् । सर्सर्ती हेर्दा समाजसेवातर्फ अनुराग भएका व्यक्ति फाट्टफुट्ट समाजसेवा गर्दागर्दै राजनीतिक क्षेत्रतिर होमिएका हुन्छन् । कोही विशुद्ध समाजसेवामा लीन हुन्छन् । विशुद्ध समाजसेवा गर्नेलाई पनि राजनीतिक बाछिटा लागिहाल्छ, राजनीतिक रङले बिटुल्याइहाल्छ ।

त्यसैले राजनीतिले समाजसेवा प्रभावित हुन्छ भने र राजनीति पनि समाजसेवाकै लागि गरिन्छ । यो सार्वभौम मान्यता हो, तर आजभोलि राजनीति समाजसेवाका लागि नभै स्वसेवाका लागि मात्र गर्न थालिएको छ । समाजका लागि राजनीति गरेको भनेर चुनाव नजितुञ्जेल भन्नेहरुको समाजसेवा पनि चुनाव जितेपछि देखिएको छ ।

कित्ताकाट नखुलेर घरजग्गाधनीहरुले घर, जग्गाको कारोबार गर्न नपाएको लामो समय भयो । कित्ताकाट नहुँदा आफ्नै अचल सम्पत्तिको उपयोग गरेर घर व्यवहार चलाउन पनि उनीहरुलाई सकस भइरहेको छ ।

सरकारले जग्गाको वर्गीकरण गरेपछि मात्र कित्ताकाट गर्न सकिने ब्यबस्था लागु गरेको छ । आफ्नो पालिकाका सबै जग्गाको बर्गीकरण गर्ने जिम्मा सम्बन्धित गाउँ÷नगरपालिकाको हो । तर अहिलेसम्म गोरखाका ११ वटा पालिकामध्य जम्मा पाँचवटा पालिकाहरु पालुङ्टार नगरपालिका, बारपाक सुलीकोट गाउँपालिका, आरुघाट गाउँपालिका, अजीरकोट गाउँपालिका र गण्डकी गाउँपालिकाले मात्र कित्ताकाट खुलाएका छन् ।

अन्य गोरखा नगरपालिका, सहिद लखन गाउँपालिका, भीमसेनथापा गाउँपालिका, धार्चे, चुमनुब्री, सिरानचोक गाउँपालिकाले अहिलेसम्म जग्गाको वर्गीकरण गर्न सकेका छैनन् । बर्गीकरण गरिसक्नेले कसरी गरे, यसबारे बर्गीकरण सक्ने पालिकाहरुसंग पाठ सिकेर आफ्नो पालिकाको जग्गा पनि बर्गीकरण गर्नुपर्छ । यसो हुँदा पालिकाबासीले सहजताका साथ जग्गाको कारोबार गर्न पाउनेछन् ।

आहारा खाने चरी आशिर्वादले बाँच्दैन भने झै नेताजीहरुको कर्णप्रिय भाषणले मात्र कुनै सर्वसाधारणको समस्या सल्टिँदैन । घरजग्गाको कारोबार सल्ट्याउन जनप्रतिनिधि र त्यस पालिकाका कर्मचारीले अहोरात्र खटेर मात्र जग्गा वर्गीकरण गर्न सकिन्छ, त्यसपछि बल्ल कित्ताकाट हुन्छ । यसका लागि जनप्रतिनिधिहरु र कर्मचारीहरुले प्रतिवद्धताका साथ तीब्र गतिमा काम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्