
फजुल खर्चमुक्त दशैं मनाऔँ
फरक पक्षको वास्ता नगरी आफ्नो राम्रो नतिजा देखाएर राजनीति गर्नुपर्ने आदर्शवादी राजनीति हो, तर अहिले आफ्नो राम्रो देखाउनु भन्दा अरुको नराम्रो देखाएर राजनीति गर्ने अभ्यास बढ्दै छ ।
धार्मिक राजनीति पनि त्यस्तै हो । अर्को फरक धर्मको नकारात्मक टिप्पणी गरेर आफ्नो धर्म प्रचार गर्नेहरुको यहाँ कमी छैन । दशैंलाई विकृतयुक्त देखाएर धार्मिक राजनीति गर्नेहरुले यसको चलखेल राम्रै छ ।
दशैंमा जमरा राख्दा धेरै अन्न खेर जाने बहानबाजी बनाएर समाजमा दशैं जस्तो महानपर्वको वदनाम गर्ने चेष्टा एक समूहबाट भइरहेको छ । टिकाटालामा अन्न अनाज खेर जाने भन्दै अर्को दुश्प्रचार भइरहेको छ । टिकाटालामा धेरै रकम खर्च हुने भन्दै अर्को कुतर्क गर्ने गरिएको छ । सोही समयमा हुने पशुबलीको विभत्स दृश्य देखाएर बद्नाम गर्न खोजिएको घटना त पुरानै हो ।
त्यस्तै चाडबाडमा जाँडरक्सी खाएर हुने झैझगडालाई देखाएर पनि दशैं, तिहारजस्ता ठूला चाडबाडको बद्नाम हुनेगर्छ । त्यसैले यस्ता कुरामा ध्यान दिएर फरक समूहबाट आफ्नो चाडपर्वको बद्नाम हुन नदिन समाजका अगुवाहरुले चाडबाडलाई मर्यादित रुपमा मनाउन पहल गर्नुपर्छ ।
धर्म परिवर्तन गर्नेहरुसंग जिज्ञासा राख्ने हो भने अधिकांशले विभिन्न खालका स्वास्थ्य समस्या निवारण गर्न धर्म परिवर्तन गरेको उल्लेख गर्ने गर्छन् । त्यस्तै हिन्दू, वौद्ध, वोन धर्ममा प्रचलित परम्परा, संस्कार र संस्कृतिमा धेरै फजुल खर्च हुने हुँदा सोबाट बच्न धर्म परिवर्तन गरेको भन्ने उत्तर दिनेको संख्या दोस्रो ठूलो छ ।
यस्ता संवेदनशील बिषयलाई ध्यान दिएर धर्म संस्कृतिलाई फजुल खर्चमुक्त बनाउनु वुद्धिमानी हुनेछ । यसले धर्मान्तरमा पनि कमी आउने पक्का छ ।
हामी सबै अहिले दशैंको पूर्व सन्ध्यामा छौँ । यो दशैं फजुल खर्चमुक्त बनोस्, शुभकामना ।




