
चाडबाडका बेला यातायातको समस्या सुल्झिएन
नेपालका कतिपय समस्या यस्ता छन्, जुन समाधान गर्न चाहेर नसकेका पनि छन्, समाधान गर्नै नचाहेर ग्रस्त भइरहेका पनि छन् ।
अण्डर बिलिङ र ओभर बिलिङमार्फत भ्रष्टाचार गर्ने प्रवृत्ति यस्तरी झ्याङ्गिएको छ कि, यो समाधान गर्न नचाहेर समस्याग्रस्त भइरहेको छ । सिजनका बेला मलको कृत्रिम अभाव गरी कालोबजारी गर्ने अभ्यास जुन छ, त्यो चाहेरै समस्याग्रस्त बनाइराखिएको छ । ‘साइनिङ पिसी’मार्फत अधिकांश कार्यालयले विकासे बजेट कुम्ल्याउने प्रवृत्ति समाधान गर्न चाहेर नसकिएको होइन, नचाहेरै समाधान नगरिएको हो ।
यस्तै मध्यको एक हो, चाडबाडका बेला यात्रु ठग्ने प्रवृत्ति । चाडबाडका बेला यात्रुहरुको चहलपहल स्वभाविक रुपमा बढ्ने गर्छ । जब यात्रुको चाप बढ्छ, तब सवारीको क्यू बढाउनु पर्छ । तर क्यूलाई साविकको झै राखी हल्टेजमा बस्ने गाडीलाई आफुखुशी चलाउन दिँदा अस्तव्यस्त हुने गरेको छ ।
चाडबाडअघि सहरका यात्रुलाई गाउँ ओसार्न र चाडबाडपछि गाउँका यात्रुलाई सहर ओसार्न कतिपय गाडीले प्रचलित दरभाउभन्दा कैयौँगुना भाडा बढाएर रिजर्भमा सेवा दिने गर्छन् । कतिपयले यात्रु खोजेर ल्याउनुस्, यति भाडा दिनुस् भनेर यात्रुमाथि नै समस्या थुपारिदिने, कतिपयले बीचबाटोबाटै मनलाग्दी भाडादरमा यात्रु बोकेर हिँड्ने, सीमित मात्र चलेका गाडीले पाइला राख्न नमिल्ने गरी असीमित यात्रु बोकेर हिड्ने जस्ता समस्या व्याप्त हुन्छन् ।
यात्रुको चापको अनुपातमा यात्रुबाहक सवारी साधनको संख्या बढाउने, क्यू बढाउने, क्यूबाहेक बीचबीचमा अस्वभाविक भाडा असुली यात्रु ओसार्ने प्रवृत्ति अन्त्य गर्ने काम गर्नुपर्छ ।
बिगतमा यातायात व्यवसायी समिति हुन्थ्यो । समितिले व्यवस्थित गर्ने पहल गथ्र्यो । तैपनि समितिको आँखा छलेर वा समितिले पनि आँखा चिम्लेर यस्ता गतिविधि नहुने त होइन । अहिले त समिति पनि छैन । प्रालि मात्र छ । प्रालिले पनि खुकुलो गरिदिँदा यात्रुहरु समस्यामा छन् । यातायात व्यवसाय चाडबाडका बेला लथालिंग छ । यसलाई व्यवस्थित गराउन प्रालि, ट्राफिक प्रहरी, स्थानीय प्रशासनले सरोकार राख्नुपर्छ ।




