
पहिरो पन्छाएर अवरुद्ध सडक तत्काल सुचारु गर
पहिरोले अवरुद्ध ग्रामिण रुटका अधिकांश सडकहरु अहिले सुचारु छैनन् । यातायात सेवा ठप्प छ । कतिपय सडकको पहिरो पन्छाउन सम्बन्धित निकायको तत्परता समेत देखिएको छैन ।
विगत चार महिनादेखि पहिरोले अवरुद्ध बारपाक–लाप्राक सडकखण्डलाई उदाहरणको रुपमा लिन सकिन्छ । यस्तो अवस्था अन्य सडकको पनि छ जहाँ सामान्य पहिरोले पनि यातायात सेवा नै ठप्प बनाइरहेको छ । सम्बन्धित निकायको वेवास्ताले पनि यस्तो समस्या निम्तिरहेको छ । अवरुद्ध सडक सुचारु गर्न वेलैमा पहल होस् ।
चाडवाड नजिकिदै छ । अध्ययन र काम बिशेषले जिल्ला बाहिर रहेकाहरु आफ्नो गाउँ फर्कने क्रम जारी छ । तर बिडम्वना बर्षाले बिगारेका ग्रामिण भेगका अधिकांश सडकको सरसफाई र मर्मत हालसम्म शुरु भएको छैन । चाडवाड लक्षित गरी सडकहरुको सरसफाइ र मर्मत गर्ने बिगतका कार्यले यसबर्ष निरन्तरता पाउछ पाउदैन भन्ने अझै अन्योल छ ।
यस्तै अवस्था हो भने यो बर्षको चाडवाडमा ग्रामिण भेगका जिल्लावासीको यात्रा निकै सकसपूर्ण हुने देखिन्छ । चाडवाड लक्षित किनमेल गरिएको खाद्यान्न लगायतका अन्य सामग्री ढुवानीमै समस्या हुने पक्का छ । जुन समस्या विगत केही महिनादेखि स्थानीयले भोग्दै आएका छन् ।
नजिकिदै गरेको चाडवाडलाई मध्यनजर गरेर भएपनि अवरुद्ध भएका सडकहरु संचालनमा ल्याउन पहल थाल्नुपर्ने वेला भइसकेको छ । स्तरोन्नतीको क्रममा रहेका सडकमा देखिएका समस्या ठेक्का पाएको निर्माण कम्पनीले समाधान गर्नुपर्छ । स्थानीय तह मार्फत खनिएका सडक मर्मत र संचालनमा स्थानीय तह नै जिम्मेवार हुनुपर्छ ।
त्यस्तै यातायात व्यवसायीले पनि आफ्नो तर्फबाट आवश्यक समन्वय गर्नुपर्छ । एक अर्काको मुख ताकेर बस्नुभन्दा पनि सबै मिलेर सडकहरु मर्मत गरी अवरुद्ध सडक संचालनमा ल्याउन सके जिल्लावासीको यस बर्षको यात्रा सहज हुने थियो की ! तसतर्फ सम्बन्धित निकायको समयमै ध्यानाकर्षण होस् ।




