
संरचनासँगै सेवाको गुणस्तमा पनि बृद्धि हुदै जाओस्
भौतिक संरचनासँगै गोरखा अस्पतालले प्रवाह गर्ने सेवामा पनि फड्को मारेको छ । विगतका बर्षहरुको तुलनामा अहिले अस्पताल भौतिक रुपमा सम्पन्न मात्र होइन बिशेषज्ञ चिकित्सकसहितको सेवा बिस्तारमा पनि सफल बन्दै आएको छ । तर अस्पतालले सुधार गर्नुपर्ने अझै पनि धेरै पक्षहरु छन् । अहिलेको उपलब्धी र सफलतालाई सर्वमान्य ठानेर मात्र हुदैन । सेवा बिस्तारसँगै चुनौतीहरु थपिदै गएका छन् र यो स्वभाविक पनि हो । यिनै चुनौतीको सामना गर्दै गुणस्तरीय सेवा प्रवाहमा निरन्तर अस्पताल लागिरहनुपर्छ ।
केही बर्ष अघिको परिवेश र अवस्थालाई केलाउने हो भने गोरखा अस्पताल ‘रिफर सेन्टर’ को रुपमा चिनिन्थ्यो । सामान्य उपचारका लागी आएका बिरामी अन्यत्र रिफर हुन बाध्य हुन्थे । बिशेषज्ञ सेवा त परको कुरा । तर अहिले बिशेषज्ञ सहितको सेवाहरु अस्पतालमै उपलब्ध छन् । बिभिन्न किसिमका शल्यक्रिया सेवाका लागी पनि अन्यत्र धाउनु पर्ने बाध्यता हटेको छ । स्वास्थ्य सेवामा अस्पतालले ठुलै फड्को मारेको छ भन्दा फरक पर्दैन । तर सेवा बिस्तारसँगै अस्पतालले सुधार गर्नुपर्ने कुराहरु पनि थपिदै गएका छन् ।
चिकित्सक एवं स्वास्थ्यकर्मीको छुद्र व्यवहार परिवर्तनदेखि काममा हुने लापरवाही न्यूनिकरण समेतमा बिशेष ध्यान दिनुपर्ने देखिन्छ । टिकट काउण्टर र फार्मेसीमा हुने भीड व्यवस्थापनमा अस्पताल चुकिरहेकै छ । ल्याव सेवालाई छिटो र प्रभावकारी बनाउन पनि अस्पतालले सकिरहेको छैन ।
त्यसमाथि सेवा प्रवाहका क्रममा कहिलेकाँही देखिने चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीले अस्पतालको सिंगो टिम नै आलोचित बन्नु परेको अवस्था समेत छ । अस्पताल व्यवस्थापन समिति र चिकित्सक एवं स्वास्थ्यकर्मीहरु बीचको दुरीलाई घटाउनु पर्छ । यस्ता कुराहरुको सुधार गर्दै अघि बढ्न सके अस्पतालले अनावश्यक झन्झट र झमेलाको सामना पक्कै गर्नुपर्दैन ।
जे भएपनि पछिल्लो समय अस्पतालले सेवामा मारेको फड्को स्वागतयोग्य नै छ । बेलाबखतको आलोचना र बिसम परिस्थितीलाई अन्यथा लिनुहुदैन । भएका कमिकमजोरीलाई सुधार गर्दै गुणस्तरीय सेवा प्रवाहमा अस्पताल निरन्तर लागिरहनुपर्दछ । अस्पतालको सेवा र गुणस्तर वृद्धिका लागी सम्पूर्ण जिल्लावासीले होस्टेमा हैसे गर्नुपर्छ ।




