| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा अस्पतालको सामाजिक लेखा परीक्षण सम्पन्न

गोरखा अस्पतालको आर्थिक वर्ष २०७९÷८० को सामाजिक लेखा परिक्षण कार्य सम्पन्न भएको छ । अस्पतालको आयोजनामा बुधवार कार्यक्रममा अस्पतालबाट उपलब्ध सेवा, अस्पतालका उपलब्धी, समस्या र चुनौतीका साथै भावी योजनाका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा पत्रकार बिकास मरहट्टाले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमा गोरखा अस्पतालमा बिरामीको भिड व्यवस्थापन गर्नुपर्ने, लिफ्टको व्यवस्था हुनुपर्ने, सेवा सर्वसुलभ र सस्तो बनाउनुपर्ने जस्ता बिषय उल्लेख भएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष यादव बस्नेतले बिगतको तुलनामा अस्पतालको सेवासुविधाहरु निकै सुधारउन्मुख भएको बताए । अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा. हरिकुमार श्रेष्ठले अस्पताल र सेवाग्राही बीचको सम्बन्ध सुधारका लागी पनि सामाजिक लेखा परीक्षणले मद्धत पुग्ने बताए । साथै अस्पतालबाट प्रभावकारी सेवाका लागी आफूहरु निरन्तर लागी परेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै अस्पताल व्यवस्थापन समिति अध्यक्ष लालप्रसाद श्रेष्ठले विगतभन्दा अहिले अस्पतालको सेवाले फड्को मारेको बताए । भएका कमजोरीहरुलाई पनि आगामी दिनमा सुधार गर्दै लैजाने उनले जानकारी दिए । सामाजिक लेखा परीक्षणले अस्पताललाई थप सुधारउन्मुख हुन र नागरिकको अपेक्षा अनुसार काम गर्न मद्धत समेत पुग्ने उनको भनाइ छ ।

प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त मेसु डा. श्रेष्ठ, अस्पताल ब्यवस्थापन समितिका सदस्य श्रवणकुमार जोशी, अस्पतालका सुचना अधिकारी कृष्ण ढकाल, फार्मेसी इन्चार्ज सुस्मिता वानिया लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी, अस्पताल ब्यवस्थापन समितिका पदाधिकारी, चिकित्सक, कर्मचारी, जनप्रतिनिधि, नागरिक समाज, संघ संस्थाका ब्यक्तिहरु, सरोकारवाला लगायतको उपस्थिति रहेको कार्यक्रममा पत्रकार मेलिना बरामले पनि सहजिकरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्