| सोमवार, कार्तिक २३, २०८३

सुनसान गाउँ, बन्द हुँदै स्कूल र क्याम्पस

यो दसकमा यस्तो दृश्य हाम्रो अघि छ, जुन अत्यन्त गम्भीर र कहालीलाग्दो छ । केही नसोच्ने हो भने केही होइन, तर सोच्ने हो भने यो अवस्थाले भावी दिनमा झन कुन अबस्था निम्त्याउला ? भन्ने चिन्ता नगरिरहन सकिन्न ।

अहिले गाउँका बासिन्दा धेरै जना बसाइँसराइ गरेर सहर छिरिसकेका छन् । प्रसंगवश गाउँमा जाने हो भने धेरै घरहरु रित्तिसकेका देखिन्छन्, कतिपय गाउँ नै खालि भइसकेको भेनिन्छ । ढोका नलागेका घरहरुमा पनि प्रौढ र वृद्ध अबस्थाका व्यक्तिहरु मात्र देखिन्छन् । अरु उमेर समूहका मानिसहरु रहेका भए पनि बालबालिका सुन्य भइसकेका गाउँहरु पनि बग्रेल्ती भेटिन्छन् ।

गोरखाका धेरै विद्यालयहरु विद्यार्थीविहिन भएका छन् । केही बर्षअघिको स्मरण गर्ने हो भने ५० को दसकमा सबैभन्दा धेरै विद्यालय खुलेका थिए । तर ७० को दसकमा पुग्दा तीमध्य धेरै विद्यालयहरु विद्यार्थीविहिन भएपछि बन्द भए ।

१२ कक्षा उतीर्ण गरेपछि अधिकांश विद्यार्थी विदेशिन्छन् । बेचेखुचेका बाँकी युवाहरुमध्य पनि अधिकांश युवाहरु उच्च शिक्षाका लागि सहर पस्छन् । कारुणिक आर्थिक अबस्था भएकाहरु यसै पढ्न छाड्छन् । धेरै तहमा फिल्टर भएर बाँकी रहेका युवाहरु पनि वैदेशिक रोजगारीका लागि गएका हुन्छन् । यस्तो अबस्था आएपछि गाउँका क्याम्पसहरु धमाधम बन्द भएका छन् । परोपकार आदर्श क्याम्पस बन्द हुनुको कारण यही हो । सो क्याम्पसमा चार बर्षसम्म गरी जम्मा अहिले १९ जना विद्यार्थी पढ्दैछन् ।

उनीहरु पनि सबैजसो रोजगारवालाहरु छन् । उनीहरु पढ्का लागि नियमित क्याम्पस आउँदैनन् । त्यसैले अहिले न क्याम्पस प्रमुख छन्, न अरु शिक्षकहरु । त्यसैले विद्यार्थी भर्ना हुन्छन्, प्रयोगात्मक गर्न आउँछन् र परीक्षा दिन सहभागी हुन आउँछन् ।

अबस्था जौबारीको मात्र होइन, सबैतिरको हो । त्यसैले सरकारले विभिन्न पालिकामा बसाइँसराई न्यूनिकरण गर्न पहल गर्नुपर्छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था हुने हो भने धेरै जना विदेश जाँदैनन् । त्यसतर्फ पालिकाहरुले पनि सोचेर कार्यक्रम गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्