
समाचारअघि बज्ने ‘गोर्खाली धुन’को संरक्षण आवश्यक
गोरखाको सदरमुकामबाट धेरै टाढा रहेको एउटा गाउँ(पाम)का कलाकार टोली आजभन्दा झण्डै ७० बर्षअघि राजा महेन्द्रको राज्याभिषेकमा आफ्नो गीत, नाच प्रस्तुत गर्न पुग्नु एउटा गौरवको कुरा हो । त्यहाँ उत्कृष्ठ हुन सक्नु झन् ठूलो गौरव हो ।
त्यो भन्दा पनि ठूलो गौरव चीनमा आयोजित लोकगीत सम्मेलनमा भाग लिन जान पाउनु हो ।
अझै त्यो भन्दा गौरवको कुरा त राज्याभिषेकमा र चीनको लोकगीत सम्मेलनमा उनीहरुले गाएर स्वर्ण पदक जितेको ‘कहिलेको झरी, कहिलेको बतास घामछायाँ, जिन्दगानी दुईदिनको रामछायाँ’ भन्ने गीतको धुन रेडियो नेपालको समाचार बज्नुअघि बज्ने धुन बन्न पाउनु हो ।
२०१३ सालमा गोरखाली कलाकारले यति ठूलो इतिहास रचे, तर यसको महिमा कतै लेखिएन ।
प्रत्यक्ष सहभागी हुने कलाकारहरु टोपमान सुवेदार, उद्वीर जम्दार, लैवरिया जम्दार, होमाया र हिरादेवी गुरुङ अहिले यस धरामा छैनन् । उनीहरुले गरेको पौरख र कमाएको नाम र इनामको सविस्तार वर्णन गर्न सक्ने समकालीन व्यक्तित्वहरुको पनि अहिले अभाव छ । त्यति मात्र होइन, उनीहरुले जितेको स्वर्ण पदक पनि अहिले छैन । अरु पुरस्कारका दसी, प्रमाण अहिले कतै भेटिँदैन । त्यतिबेला गाइने गीतलाई पूरै गाउन सक्नेहरु पनि अहिले बाँकी छैनन् ।
गोरखाले हात पारेको गौरवको गाथालाई संस्थागत गरी त्यसको श्रेयलाई स्थापित गर्न बिगतमा पनि कहीँ, कतैबाट पहल भएन । अहिले पनि कसैले यसप्रति चासो राखेको देखिएन । जुन दुखद पक्ष हो ।
नेपाली लोकगीतलाई आजको अबस्थामा ल्याइपु¥याउन रेडियो नेपालको ठूलो भूमिका छ । त्यही रेडियोमा २०४६ सालभन्दा अघि समाचार अघि बज्ने धुन गोरखाली कलाकारको हो भनेर स्थापित गराउनु महत्वपूर्ण छ । त्यसको जगेर्ना र प्रचार प्रसार गर्नु अहिलेको पुस्ताको कर्तव्य हो ।




