
कार्यालयहरुमा सेवाग्रहीमैत्री कक्ष आवश्यक
कुनै समय थियो, सेवा प्रदायक कार्यालयका कर्मचारीहरुले आफूलाई ‘हाकिम’ र सेवाग्राहीलाई ‘सेवक’ सरह सम्झेर व्यवहार गर्ने प्रचलन थियो । लोकतन्त्रको आगमनसंगै व्यवहारमा परिवर्तन आएको छ । अर्थात लोकतान्त्रिकरण भइरहेको छ ।
सेवाग्राहीमैत्री व्यवहार गर्ने क्रममा अहिले विभिन्न कार्यालयहरुले आफ्ना सेवाहरुमा प्रसंसनीय सुधार गर्दै आएका छन् । पछिल्लो उदाहरण जिल्ला प्रहरी कार्यालय गोरखाले हालै मात्र बालमैत्री कक्ष सञ्चालनमा ल्याएको छ ।
विशेषगरी प्रहरी कार्यालयमा आउने महिला तथा बालबालिकासम्बन्धी मुद्दाहरुमा बालबालिकालाई सुरक्षित तबरले राख्न बालमैत्री कक्ष स्थापना गरेको हो । आमा प्रहरी कार्यालयमा मुद्दाको झमेलामा फँसिरहेकी हुन्छिन्, उनका बालबालिका अस्तव्यस्त बनेको हुनसक्छ । यही अबस्थालाई मध्यनजर गरी प्रहरीले उनका बालबच्चाको उचित रेखदेख तथा स्याहारसम्भार गर्न बालकक्षको स्थापना गरेको हो । त्यस्तै कतिपय घटनामा बालबालिका स्वयं नै जोडिएका हुन्छन् ।
नीहरुलाई केही समय छानबीन तथा अनुसन्धान गर्नुपर्ने हुन्छ । त्यस्ता बालबालिकालाई बालमैत्री कक्षमा राखेर अनुसन्धान गर्नुपर्ने हुनसक्छ । त्यस्तो अबस्थामा पनि बालकक्ष धेरै उपयोगी हुन्छ । त्यस्तै महिला प्रहरी, जसको बालबच्चा साथमा रहनु पर्ने हुन्छ, उनीहरुलाई पनि त्यहाँ सुरक्षित पूर्वक राख्ने व्यवस्था गर्न सकिन्छ ।
बालबालिकाले खेल्ने खेलौना, रमाउने दृश्यहरुको पनि त्यहाँ व्यवस्था गरिएको छ ।
महिलाहरु बालबच्चसहित सेवा लिन आउनुपर्ने अरु धेरै कार्यालयहरु हुन्छन् । त्यस्ता कार्यालयहरुले पनि बालबालिकालाई सुव्यवस्थित रुपमा राख्ने व्यवस्था गर्न सके सुनमा सुगन्ध हुनेछ । कतिपय कार्यालयले स्तनपान कक्ष सञ्चालन गरेका हुन्छन् । कतिपय कार्यालयले चेन्जिङ रुम सञ्चालन गरेका हुन्छन् ।
कतिपय ठाउँमा सेफ हाउस पनि सञ्चालनमा छन् ।
यो जस्तै कार्यालयहरुले स्वच्छ, सफा खानेपानी सेवा, सेवाग्राहीमैत्री सौचालय सेवाको व्यवस्था गर्नु अपरिहार्य हुन्छ । यसरी नै सेवाग्राहीको जरुरी आवश्यकताको अध्ययन गरी सेवाग्राहीमैत्री पूर्वाधार बनाउनु अति उत्तम हुनेछ ।




