
गोरखकाली मन्दिरलाई थप व्यवस्थित बनाऊ
गोरखकाली मन्दिरको जीर्णोद्वार सम्पन्न भएको छ । पुरातत्व विभागले दुईबर्ष लगाएर मन्दिरको जीर्णोद्वार गरेको हो ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सो मन्दिर निजी आवास तथा अन्य सरकारी भवनहरु पुनर्निर्माण भएसकेपछि सबैभन्दा पछि प्रवलीकरण गरिएको हो । ढिला गरी भएपनि पुनर्निर्माण गरेकामा पुरातत्व विभागको सत्कार्यको प्रसंसा गर्नुपर्छ ।
त्यहाँ गोरखकाली मन्दिर, गोरखनाथ मन्दिर र गोरखा दरबार एकै ठाउँमा छन् । यी तीनै धरोहर नेपालका अत्यन्तै महत्वपूर्ण छन् । गोरखा दरबारसंग ४६५ बर्षभन्दा लामो इतिहास जोडिएको छ । तत्कालीन राजा द्रव्य शाहले १६१६ भदौ २५ गते राज्याभिषेक गरेपछि गोरखामा शाह राजाको उदय भएको हो । त्यसपछि बिस्तार–बिस्तार राज्य एकीकरण हुन थालेकामा पृथ्वीनारायण शाहले राज्य एकीकरण महाअभियान नै चलाएर नेपाल निर्माण गरेका हुन् ।
हिन्दूहरुका महान गुरु गोरखनाथको महिमा अपार छ । जसको नामबाट यो भूगोलको नाम गोरखा रहन गयो । भारतको गोरखपुर र यहाँको गोरखा गोरखनाथको थलो हो । सनातनीहरु आदिगुरु गोरखनाथ, गोरक्षधाम आदि नामले यसलाई पुकार्छन् ।
गोरखकाली विशेषगरी शाहवंशको कुलदेवी पनि हुन् । गोरखकालीकै प्रतापले नेपाल एकीकरण भएको विश्वास छ ।
यति लामो र महत्वपूर्ण महिमा र इतिहास भएको स्थल गोरखकाली मन्दिर अहिले पुनर्निर्माण सम्पन्न भएको छ । अब यहाँ भक्तजन तथा पर्यटकलाई आवतजावत र अवलोकन गर्न सजिलो हुनेछ ।
तर त्यहाँ अझै गर्नुपर्ने धेरै कुराहरु छन् । सबैभन्दा प्रमुख कुरा भनेको त्यहाँ पर्याप्त खानेपानीको व्यवस्था हुनु जरुरी छ । भक्तजन तथा पर्यटकले त्यहाँ खान त परको कुरा, अक्षता भिजाउने पानी पनि पाउँदैनन् । त्यो भन्दा पनि महत्वपूर्ण कुरा त्यहाँसम्म पुग्ने बाटोको समस्याको छ । त्यहाँसम्म पुग्न दुईठाउँबाट मोटरबाटो बनेको छ, ती दुवै कच्ची हुन् । दुईलेनको पक्की कालोपत्रे सडक हुनु अति जरुरी छ ।
अरु मन्दिर र यो मन्दिरमा के फरक त त्यस्तो जब कि यहाँ अति धेरै बाँदर आतंक छ । आफूसंगको पूजा सरजाम कतिबेलासम्म बाँदरले खोसेर लैजान्छ भन्ने त्रासदीले भक्तजनको ध्यान पूजा आजा, भक्तिभावभन्दा बाँदरबाट जोगिनेतिर केन्द्रित हुन्छ । यी र यस्ता धेरै समस्याहरु व्यवस्थित हुनु आवश्यक छ ।
यी तमाम समस्या समाधानका लागि गोरखा दरबार क्षेत्रविकास समिति बनाएर काम गर्न सके सहज, सजिलो हुनेछ ।




