| सोमवार, कार्तिक २३, २०८३

सीमा क्षेत्रबासीले यथासीघ्र सीमापार पास पाउने व्यवस्था होओस्

गत २०७६ को पुसदेखि चिनियाँ पक्षले एकातर्फी रुपमा बन्द गरेको रुइला र ङुइला नाका अहिले एकातर्फी रुपमा खुल्ला गरेको जानकारी सो क्षेत्रका बासिन्दालाई गराएको छ ।

ढिलै भए पनि नाका खुलेको जानकारीले चुमनुब्री गाउँपालिकाको वडा नं. १, २, ४, ५, ६ र ७ का बासिन्दा हर्ष विभोर छन् । बिगत लामो समयदेखि अत्यावश्यकीय सामान ल्याउन नपाउँदा समस्यामा परेका उनीहरु अब नजिकको बजारबाट आफ्नै घोँडा, याक, चौँरीलाई बोकाएर ल्याउन पाइने भयो भनेर खुशी भएका हुन् । वडा नं. २ का बासिन्दा त गत मंगलबारबाट नाका खुल्ने हल्ला सुन्ने वित्तिकै घोँडा लिएर सीमा क्षेत्रतिर गएका थिए, तर पास लिएर मात्र आउन अर्को सूचना जारी गरेपछि उनीहरु दुई दिनपछि फर्कन बाध्य भएका छन् ।

जिल्ला प्रशासन कार्यालय गोरखाबाट सीमापार पास लिनका लागि अहिले वडा नं. १ र २ का अध्यक्ष सदरमुकाममा बसेका छन् । तर जिल्ला प्रशासन कार्यालयले भने पास दिनू भन्ने लिखित आदेश गृहमन्त्रालयबाट नआई दिन नसकिने जनाएको छ । साथै कार्यालयले पास दिने अनुमति पाउन गृहमन्त्रालयमा पत्राचार पनि गरेको छ ।

गाउँपालिकाका अध्यक्ष निमा लामासहितका टोली पासको व्यवस्था मिलाइदिन माग गर्दै गृहमन्त्रालयमा धाइरहेका छन् । तर मन्त्रालयबाट पत्राचार हुन ढिलाइ हुँदा प्रशासन कार्यालयले पास दिन सकेको छैन ।

गृहमन्त्री गोरखाकै हुनु, उत्तरी भेगको समस्याका बारेमा राम्रै जानकार हुनु र त्यहाँका बासिन्दाले निरन्तर समस्या अवगत गराई पासका लागि अनुरोध गरिरहँदा पनि पासका लागि प्रक्रिया अघि बढ्न नसक्नु दुखद कुरा हो ।

नाका खुल्दा उत्तरी गोरखाका बासिन्दाले सस्तो, सुपथ र सहज रुपमा दैनिक उपभोग्य सामग्री ल्याउन पाउने हुँदा नेपालको पक्षबाट ढिलाइ हुनु हुदैन । यथासीघ्र पासको व्यवस्था गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्