
धर्मको नाममा भ्रम नछरौँ
झाडापखाला, टाइफाइड, क्षयरोग जे समस्या होस्, गाउँघरमा धामी, झाँक्री लगाएर उपचार गर्ने चलन अहिले पनि कतैकतै बाँकी नै छ । यसलाई अन्धविश्वास, रुढीवाद, भ्रामक, बिकृति भनेर जसले पनि आरोप लगाउन सक्छ ।
तर अहिले टोलटोलमा सच्चाइ छ । हर शनिबार जमघट हुन्छन् र प्रार्थना गर्छन् । सच्चाइका पास्टरहरुले टाउको दुखेको, पेट दुखेको, पखाला लागेको, बिरामीलाई पनि निको पार्छौं भन्दै सच्चाइमा ल्याउन आग्रह गर्छन् । विशेषगरी मानसिक बिरामीहरुलाई सच्चाइमा ल्याउँछन् र उपचार भन्दै प्रार्थना गर्छन् ।
चर्चमा फुकफाक र, भजन गरेर उपचार गरेको पद्धतिलाई चाहिँ अन्धविश्वास भन्ने चलन छैन । यस्तोलाई अन्धविश्वास भन्यो भने धार्मिक सद्भाव भड्काउन खोजेको भन्ने आरोप लाग्ने डर हुन्छ ।
विरामीलाई आयुर्वेदिक, एल्लोपेथिक, होमियोपेथिक, योगा, फिजियोथेरापी, आम्जी, अकुपञ्चर जस्ता उपचारको पद्धतिलाई मनासिब मान्न सकिन्छ । यिनीहरुले मानकता पनि पाएका हुन्छन् तर झारफुक गरेर, भजन गाएर, ढ्याङ्ग्रो ठोकेर गर्ने उपचार पद्धतिलाई रुढिवादी, भ्रामक, अन्धविश्वास र विकृति नै मानिन्छ । चाहे त्यो जुनसुकै धर्मावलम्बीले चलाएका होउन् । गाउँका सनातनीले गरेकोलाई मात्र अन्धविश्वास ठानेर घृणा गर्ने होइन, नविनत्तम आयातिन धर्मावलम्बीहरुले अपनाएका यस्ता पद्धतिलाई अन्धविश्वास भन्ने आँट गर्नुपर्छ ।
यस्ता अन्धविश्वासमा कोही पर्नुपनि हुदैन, यस्ता अन्धविश्वास र गुमराहमा कसैले राख्न पनि पाउँदैनन् । स्वास्थ्यमा खेलवाड गर्ने छुट कसैलाई छैन, त्यो दण्डनीय हुन्छ । यस्ता रुढीवादलाई हटाउनु, सर्वसाधारणलाई भ्रमबाट मुक्त गर्नु सचेत नागरिकको कर्तव्य हो । द्वन्द्व, अशान्ति नमच्चाई शान्तिपूर्ण तरिकाले यस्ता भ्रमबाट छुटकारा दिन सचेत नागरिक लाग्नु पर्छ । चाहे त्यो जुनसुकै धर्मका नाममा गरेका होउन्, अन्धविश्वास अन्धविश्वासै हो ।




