| सोमवार, कार्तिक २३, २०८३

रेडक्रसभित्रको आन्तरिक दरारको दुश्प्रभाव विपद पिडितलाई झन् बढि

परोपकारको पर्याय रेडक्रस हो भन्ने विश्वव्यापी मान्यता हो । जहाँ प्राकृतिक प्रकोप हुन्छ, जहाँ विपद हुन्छ, त्यहाँ राहत, उद्धार, पुनस्थापना, पुनर्वासमा सघाउनका लागि रेडक्रस हाजिर हुन्छ । जहाँ विपद हुन्छ, त्यहाँ पहिलो पल्ट राहत सामग्री लिएर रेडक्रस पुगेकै हुन्छ । इतिहासले गरेको यो पुष्टिका साक्षी जो कोही छन् ।

बिगतकै उदाहरण हेर्दा गोरखा भूकम्प २०७२ मा रेडक्रसको गोरखा शाखा लगायत देशभरका शाखा, उपशाखा, आइसिआरसी, आइआएआरसीलगायतका रेडक्रसको अन्तर्राष्ट्रिय संस्थाहरुको योगदान अतुलनीय रह्यो ।
त्यसपछि पनि बर्षेनी भइरहेका बाढी, पहिरो, डँडेलो, आगलागी तथा अन्य खालका विपदका घटनामा रेडक्रसले गरेको योगदान सदासर्वदाका लागि स्मरणीय छ ।

रेडक्रसकै पहलमा गोरखामा रक्तसञ्चारकेन्द्र स्थापना भयो । यो काम त गोरखाका लागि शव्दमा अवर्णनीय काम हो । यी सबका लागि नेपाल रेडक्रस सोसाइटी गोरखा शाखा धन्यवादको पात्र छ ।

तर दुखका साथ भन्नुपर्छ, केही समयदेखि रेडक्रस गोरखाभित्र केही असमझदारी, केही तनाव, केही दरार, केही खटपट देखा पर्न थालेको छ । यसले गर्दा रेडक्रसले निर्वाह गर्नुपर्ने भूमिकामा केही कमी आएको छ । यो खालको वातावरण बढ्दै गयो भने यसको दुश्प्रभाव दरार भएको पक्ष बीच मात्र सीमित रहन्न ।

जसरी रक्तसञ्चार केन्द्र संचालनमा सक्रिय रहने पक्ष र रेडक्रसको सचिवालय बीच पछिल्लो समय दरार पैदा हुँदा रक्तसञ्चार केन्द्रको गतिविधिमा शिथिलता आएको छ । यसले यी दुई पक्षलाई मात्र असर गर्दैन, सर्वसाधारण बिरामीहरुमा धेरै नकारात्मक असर पर्छ । एम्बुलेन्स काटकुट गर्दा आपसी सहमति नजुटाइएको विषय रागिएको छ । यस्ता उदाहरणहरु सामुन्ने छन् । मरिचझैँ आफ्नै कारणले रेडक्रस खुम्चियो भने यसको सिधै असर विपद पिडितहरुमा पर्न जान्छ ।

यो मार्मिक अबस्थालाई मनन गरी रेडक्रसका रथी, महारथीहरुले दरार, असमझदारी हटाउने पहल गरुन् । किनभने रेडक्रस आफ्ना लागि होइन, अरुका लागि लागि पर्ने संस्था हो । आफूभित्र कुनै दुखाइ हुनसक्छ, त्यसलाई बिर्सेर अरुका लागि सोच्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्