| सोमवार, कार्तिक २३, २०८३

सेतो पुतलीबाट जोगिऔँ

सेतो पुतलीको झुस पसेपछि लाग्ने ‘शापू’ आँखाभित्रका तीनवटै पत्रलाई असर गर्ने खालको सङ्क्रमण हो । यो रोग विशेषगरी भदौदेखि मङ्सिरसम्म देखिन्छ । सेतो पुतलीका रौँहरूमा र तिनले निकाल्ने नाइट्रिक अक्साइड र पोटासियम साइनाइड बीच रियाक्सनका कारण आँखालाई हानी पु¥याउँछ । आँखाको दृष्टिसम्म गुम्न सक्ने भएकोले यो अलि जटिल प्रकृतिकै समस्या ।

गोरखा जस्तो मध्य पहाडी भेगमा यसको बढी जोखिम रहेको देखिन्छ । बढी समस्या युवा तथा बालबालिकामा छ । उपचार अलिकति जटिल छ, जटिलता हुने सम्भावना बढी हुन्छ । सेतो बत्तीमा पुतलीहरू झुम्मिने भएकाले त्यो वरिपरि बालबालिकालाई खेल्न र पढ्न दिनु भएन । त्यसैगरी घरभित्र सेतो पुतली नछिरोस् भनेर झ्याल, ढोकामा जाली लगाउने अथवा बन्द गर्ने गर्नुपर्छ ।

कतिपयका घरमा बिस्तरामाथि नै बत्ती हुन्छ । त्यो निभाउने बेला सेतो पुतली झरेर आँखामा पर्ने जोखिम हुन्छ । झुलको प्रयोग गरियो भने लामखुट्टेबाट र सेतो पुतलीबाट पनि जोगिने हुन्छ ।

सेतोपुतलीको झुस आँखामा प¥यो भने आँखाभित्र नै औषधिको सुई लगाएर उपचार गरिन्छ भने जटिल अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुन्छ । त्यसैले बेलैमा उपचार गराएमा दृष्टि जोगाउन सकिन्छ । नभए दृष्टि पनि गुम्न सक्छ अथवा आँखा नै सुकेर जान सक्छ । धेरैजसो आँखा रातो हुँदा हामी आँखा पाकेको भन्छौँ ।

त्यसो हुँदा चिप्रा लाग्छ । तर यदि आँखा रातो भइरहेको छ, दुखिरहेको छ, बिझाइरहेको छ अनि चिप्रा लागेको छैन भने शापू लागेको शङ्का गर्नुप¥यो । साथै शापू लागेमा आँखाले हेर्न गाह्रो हुन्छ । सानो बच्चाले भन्न नसके हुँदा रुने गरेमा र दुखेजस्तो व्यवहार देखाउने गरेमा शङ्का गर्नुर्पयो । अलिकति ढिलो भयो भने आँखाको नानीमा सेता दागहरू देखिन सक्छन् । लक्षण देखिनासाथ आँखा अस्पताल गइहाल्नुपर्छ । चिकित्सकको परामर्शअनुसार उपचार गराइहाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्