
मदिरा बेचबिखन रोक्ने वडा कार्यालयहरुको प्रयास
धेरै कुरामध्य अहिले खाँचो परेको आदर्शवाद, नैतिकता, शिष्टताको पनि हो । यसको अभावले अहिले समाज भाँडमा गइरहेको छ । उग्रता, उद्दण्डताको जीत भइरहेको छ भने शिष्टता, सालिनता, नम्रता पाखा परिरहेको छ । मानवता, नैतिकता, आदर्शवाद खुम्चिरहेको छ भने जसले हान्यो, उसले जान्योको प्रवृत्तिले सँधै जितिरहेको छ ।
राज्य सञ्चालनको उच्च ओहोदामा पुगिसकेकालेसमेत लोकल रक्सीलाई ब्राण्डिङ गरेर खुल्लमखुल्ला गर्न माग गरिरहेका छन् भने जाँजा जस्तो नशालू पदार्थलाई खुल्लमखुल्ला कारोबार गर्नुपर्छ भनेर लबिङ गरिरहेका छन् । अहिले पनि कैयौं ठाउँमा युवा पुस्ता लुकीछिपि गाँजाले लठ्ठिएर, बेहोश भएर, बेसुर भएर कुमार्गमा लागिरहेको अबस्था छ । गाँजाबाट बन्ने चरेश सेवनको दुव्र्यशनले जीवन बरबाद बनाइरहेको अबस्था छ ।
गाँजाको कुलतले जीवन बर्बाद बनाएका कैयौँ नौजवानहरु कोही पुनस्थापनाकेन्द्रमा पुगेका छन्, कोही एडिक भइसकेका कतिपयलाई पुनस्थापनाकेन्द्रले पनि पूर्ववत अबस्थामा ल्याउन नसकेर स्वास्थ्य अबस्था जटिल भइसकेको अबस्था छ ।
धरातलीय यथार्थ एकातिर छ, अर्कातिर भीम उपाध्यायपथमा लागेर केही उच्च ओहोदामा बसेका जिम्मेवार व्यक्तिहरुले गाँजालाई वैधानिकता दिनुपर्ने वकालत गर्दै आएका छन् । खराबलाई धेरैजना मिलेर, धेरैपटकसम्म सही भनेर दाबी गरेर सही बनाउने सिद्धान्त अपनाउँदै उनीहरुले गाँजालाई मान्यता दिने कसरत गर्दैछन् ।
यही सन्दर्भमा कतिपय जनप्रतिनिधिले रचनात्मक निर्णय गरी गाँजा, रक्सी जस्ता मादकपदार्थ तथा नशालु पदार्थ किनबेचमा सीमा तोकेका छन् ।
पहिले गत सोमबार गोरखा नगरपालिका वडा नं. ३ नारेश्वरका वडाअध्यक्षले जाँडरक्सी तथा धुमपानलाई सीमित दायराभित्र ल्याउन किनबेच गर्ने उमेर समूह र किनबेच तथा प्रयोग गर्ने समयसीमा तोकेका छन् । त्यसकै भोलिपल्ट अथवा मंगलबार सिरानचोक गाउँपालिका वडा नं. ३ ले पनि धुमपान तथा मध्यपानलाई निश्चित समयभित्र, निश्चित उमेर समूहले मात्र किनबेच गर्न पाउने नियम बनाएको छ ।
यो निर्णय सह्राननीय छ । समाजलाई खराबबाट असलमार्गतिर लैजान सबै जनप्रतिनिधिले सकेजति प्रयास गर्नुपर्छ । राम्रो निर्णय अरु पालिका तथा अरु वडाहरुले पनि देखासिकी गर्दा उत्तम नै हुन्छ ।




