| सोमवार, कार्तिक २३, २०८३

गण्डकी गाउँपालिकाको सत्प्रयास अक्षरसः लागु होओस्

भीमसेनथापा गाउँपालिकास्थित विन्द्रावती माविका प्रधानाध्यापक उत्तरनारायण श्रेष्ठ माओवादीको जनतासंग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत तीन महिने अभियानको एक कार्यक्रममा मन्तव्य राख्दै गरेको तस्वीर सार्वजनिक भयो । त्यसपछि गण्डकी गाउँपालिकाको ज्ञानमार्ग माध्यमिक विद्यालयमा सोही अभियान अन्तर्गतको गतिविधि भएको तस्वीर पनि सञ्जालमा आयो ।

माओवादी अहिले सरकारको नेतृत्वमा छ । सरकारको नेतृत्वमा रहेको पार्टीको राजनीतिक अभियानका यस्ता तस्वीरले सायद गण्डकी गाउँपालिकाको नेतृत्वमा काउकुती लाग्यो । त्यसैले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै गण्डकी गाउँपालिकाकाका कुनै पनि सामुदायिक विद्यालयका शिक्षकहरु राजनीतिक कार्यक्रममा सरिक नहुन निर्देशन जारी ग¥यो ।
यस्ता गतिविधि अरु गाउँपालिकामा पनि भएका छन् । माओवादीसंवद्ध शिक्षकहरुबाट पनि भएका छन्, कांग्रेस, एमाले वा जुनसुकै राजनीतिक पार्टीमा आस्था राख्ने शिक्षकहरुबाट राजनीतिक दलको सदस्यता लिने, राजनीतिक कार्यक्रममा सरिक हुने हर्कत गरेको पाइन्छ ।

यही बीचमा गण्डकी गाउँपालिकाले सबै शिक्षकहरुलाई राजनीतिक गतिविधिमा सरिक नहुन निर्देशन गरेर सार्वजनिक गरको यो निर्णयको वाहवाही भएको छ ।

मानिस राजनीतिक प्राणी हो । विश्वमा हुने कुनै पनि गतिविधि राजनीतिबाट अछुत छैन । शिक्षा क्षेत्र पनि राजनीतिबाट अछुतो हुने कुरै भएन । तर शिक्षा क्षेत्रमा राजनीति हुन्छ भन्दैमा शिक्षक राजनीतिक अग्रमोर्चामा उभिएर गतिविधि गर्नुपर्छ भन्ने छैन ।

अक्सर शिक्षकहरुले राजनीतिक दलको शुभेच्छुक संस्थाको सदस्यता लिएका पनि हुन्छन् । सोही संस्थामार्फत अनौपचारिक रुपमा आफ्नो आस्था भएको पार्टीलाई सहयोग गरेका हुन्छन् । यसलाई विद्यमान कानूनले वैध ठान्छ । तर राजनीतिक पार्टीकै सदस्यता लिएर राजनीतिक पार्टीको कार्यक्रमको अग्रपंत्तीमा सरिक हुने गर्छन् । यो मनासिब काम होइन ।

कुनै राजनीतिक पार्टीमा आस्था राख्नु जायज छ । सहयोग गर्नु जायज छ । फुर्सदका बेला कार्यक्रम हेर्न, सुन्न जानु मनासिब छ, तर कार्यक्रमको नेतृत्व गर्ने, व्यवस्थापन गर्ने, भाषण गर्ने काम भने वर्तमान कानूनमा बर्जित छ । त्यसैले अन्य पालिकाले पनि यस्ता निर्णयलाई देखासिकी गर्दा बेसै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्