| सोमवार, कार्तिक २३, २०८३

उत्तरी गोरखाको स्याउको बजार पहुँच सहज होओस्

नेपाली बजार चीन, भारत, जापान, अमेरिकाका स्याउले भरिन्छन् । हाम्रो देशको मनाङ, मुस्ताङ, जुम्ला लगायतका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पनि प्रसस्त स्याउ खेती हुन्छन् तर यी स्याउले बजारको माग धान्न सक्दैनन् ।

अर्थात स्याउको राम्रो खेती हुने क्षेत्रमा पनि स्याउको पर्याप्त खेती गरिँदैन । यसका लागि स्थानीय व्यवसायीले पनि कम चासो दिएकाले यस्तो भएको हो । सरकारले किसानलाई व्यवसायिक स्याउखेतीतर्फ लाग्न प्रोत्साहित नगरेका कारण पनि नेपालकै हिमाली तथा उच्च पहाडी भेगका बासिन्दा स्याउ खेतीतर्फ कम लागेका हुन् ।

यसअघि जुम्ला, मनाङ, मुस्ताङ, हेलम्बुमा स्याउ उत्पादन हुन्छ भन्ने धेरैलाई थाहा छ । गोरखामा पनि स्याउ उत्पादन हुन्छ भन्नेचाहिँ कमैलाई मात्र थाहा छ । यसको कारण गोरखाको स्याउ गोरखा बजारमा नपाइनु हो ।

गोरखा बजारमा नपाइनुको कारणचाहिँ स्याउ खेती हुने उत्तरी गोरखा र सदरमुकाम जोड्ने मोटरबाटोको सहजता नहुनु हो । यदि स्याउ खेती हुने नाम्रुङ तथा ल्होबाट मोटरमा स्याउ ढुवानी गरेर गोरखा बजार ल्याउने हो भने त्यहाँको स्याउ अन्य बजारमा लानै पर्ने थिएन । कोल्डस्टोरमा राखेर बर्षैभरि गोरखा बजारमा बेचेको भए पनि हुने थियो ।

त्यहाँका स्याउ हेलिकोप्टरबाट ढुवानी गरेर काठमाडौं लानु पर्ने बाध्यता छ । यसो गर्दा ढुवानी भाडा महंगो पर्ने र स्याउको मूल्यमा पनि थोरै वृद्धि हुने गर्छ । तर स्याउको गुणस्तरले त्यसको भाउलाई ओझेलमा पारिदिन्छ ।

यहाँको स्याउ मुस्ताङ(मार्फा)तिरका स्याउ भन्दा धेरै गुणस्तरको छ । उच्च गुणस्तरको स्वाद तथा अर्गानिक भएकाले यहाँको स्याउ काठमाडौंको भाटभटेनी सुपरमार्केटमा राखेर बेचिन्छ तर गोरखा बजारमा पाइँदैन ।

अहिले स्याउको बगैँचा एकबाट दुई, दुईबाट तीन, चार हुदै बर्षेनी बढ्दैछन् । तसर्थ उत्तरी गोरखा जाने मोटर बाटो यथासीघ्र निर्माण सम्पन्न गरेर त्यहाँको स्याउ बजारसम्म ल्याउने वातावरण बनोस् ।

प्रतिक्रिया दिनुहोस्