| सोमवार, कार्तिक २३, २०८३

मलमा कालाबजारी भएको टुलुटुलु हेरेर बस्नु खेदजनक

केही यस्ता ‘भाष्य’ निर्माण भएका छन् कि, जुन वर्तमान परिवेशमा असमसामयिक भएपनि निरन्तर चलिरहेका छन् । ‘नेपाल जलस्रोतका दृष्टिले विश्वकै धनी मुलुक हो’, ‘हरियो वन नेपालको धन’, ‘नेपाल कृषिप्रधान मुलुक हो’ इत्यादि भाष्य जनजीब्रोमा छ ।

वर्तमान सन्दर्भमा यी भाष्यहरु ‘मिथ्या’ सावित भइसकेका छन्, परन्तु अहिले पनि यो प्रचलित छ ।
जुन देशमा बर्षेनी खर्बौँ रुपैयाँ बराबरका खाद्यान्न छिमेकी राष्ट्रबाट आयात गरिन्छ, जुन मुलुकमा हरेक बालीका बिउबिजन आयात गरिन्छ, जुन देशमा मलको कारखाना छैन, सिजनमा किन्न पनि पाइँदैन, आधुनिक कृषि औजार पनि छैन, जुन मुलुकका अधिकांश युवाशक्ति वैदेशिक रोजगारीमा गएका छन्, जुन देशका जनशक्ति कृषिबाहेक अरु पेशा रोज्छन्, जुन देशमा व्यवसायिक कृषि पेशा गरिँदैन, जुन मुलुकमा किसानहरु सबैभन्दा पुछारको प्राथमिकतामा छन् भने त्यो देशलाई कृषिप्रधान भन्नु उपाहास गर्नु हो ।

जैविक मल उत्पादन गरेर खेतीबालीमा प्रयोग गर्नु अतिउत्तम हो । त्योतर्फ त ध्यान गएन–गएन, रासयनिक मल प्रयोगतर्फ उन्मुख भइसकेपछि सवैभन्दा मुख्यकुरा मल कारखाना निर्माण गर्न सक्नुपथ्र्यो । त्यो पनि सकिएन । कम्तिमा मुख्यबाली धान, मकै वा जुनकुनै बालीमा मल राख्नु पर्ने मुख्य सिजनमा पर्याप्त मल उपलब्ध गराउन सक्नुपथ्र्यो । तर बिगत दशकौँदेखि किसानहरुले मलको अभाव, मलमा कालाबजारी खेपिरहनु परेको छ ।

मलको अभाव, मल अभावका कारण किसानले भोग्नु परेका सास्ती, मलमा दिनदहाडै भएको कालोबजारीका बारेमा नीति निर्माण तहमा बस्ने कोही पनि अञ्जान छैनन् । मलको समस्या कसरी समाधान गर्ने भन्ने अक्कल पनि उनीहरुसंग राम्रै छ, तर अपनाउँदैनन् । पुँजीवादी हुँ भन्ने पार्टीको नेतृत्वमा सरकार हुँदा पनि समाधान गरेन, सर्वहारा बर्गको प्रतिनिधित्व गर्ने पार्टी हुँ भन्नेको नेतृत्वमा सरकार रहेको बेला पनि यो समस्या समाधान भएन ।

मलको समस्या समाधान गर्ने उपाय जान्दाजान्दै पनि समाधान नगर्नु र आँखै अगाडि मलमा कालोबजार भएको टुलुटुलु हेरेर बस्नु अत्यन्त दुखद र खेदजनक छ ।

प्रतिक्रिया दिनुहोस्