| सोमवार, कार्तिक २३, २०८३

ब्युँताउने पहल गरौँ मित मितनी परम्परा

जमाना एकातिर तीब्र गतिमा बेगिइरहेका बेला पुराना कुरा गर्नेलाई ‘एण्टी करेण्ट’को संज्ञा दिन्छन् । एण्टी करेण्ट नै सही, तर मित लगाउने परम्परा पुनर्जागरण गर्नु राम्रो हुन्छ भनेर नभनी रहन सकिएन ।

अनुहार मिल्ने, जिउडाल मिल्ने, बानी व्यवहार स्वभाव मिल्ने, भावना मिल्नेसंग बलियो(दीगो) नाता गाँस्न मित÷मितिनी लगाउने नेपालको मौलिक परम्परा हो । मित÷मितिनी भनेको आफ्नो अर्को स्वरुप हो भन्ने मान्यता छ । त्यसैले आफ्नो बुबाआमा मित÷मितिनीको पनि बुबाआमा, आफ्नो दाजुभाइ, दिदी बहिनी मित÷मितिनीको पनि दाजुभाइ, दिदी बहिनी हुन्छन् । आफ्नो सुखदुख मित÷मितिनीको पनि सुख, दुख हुन्छ ।

मित÷मितिनीको बुबा आमा वा कोही आफन्त मर्दा जुठो बार्ने वा संस्कार अनुसार काजकिरियाको आंशिक कार्यमा सहभागी हुने पनि परम्परा छ । आफ्नो बुबा, आमा वा दाजुभाइ, दिदीबहिनी छैनन् भने पनि मित÷मितिनीको बुबा, आमा वा आफन्तलाई साइनो लगाएर नजिकको व्यवहार गर्ने चलन छ । बुबा आमा वा दाजुभाइ, दिदी बहिनीको झल्को मेटाउने चलन छ । भावनात्मक दृष्टिकोणले होस् वा व्यहारिक दृष्टिकोणले, मित÷मितिनी साइनो धेरै उत्तम छ ।

प्रसस्त मिल्ने साथी त अरु पनि हुन्छन् तथापि मित÷मितिनीको साइनो त्यो भन्दा बलियो हुन्छ, दीगो हुन्छ, व्यवहारिक हुन्छ, भावनात्मक हुन्छ । त्यसैले यसको दुर्वल पक्ष केही छैन नभनुँ, भए पनि नगण्य छ ।

तर दुखका साथ भन्नुपर्छ, अहिले मित÷मितिनी लगाउने परम्परा मृतप्राय छ । सबै परम्परालाई पूर्ववत रुपमा राखिरहनु पर्छ भन्ने त होइन, तर कतिपय त्यस्ता परम्परा हुन्छन्, जसको दुर्वल पक्ष छैनन् वा कम छन्, त्यस्ता परम्परालाई जीवितै राख्नुपर्छ । मित÷मितिनी परम्परा पनि एउटा त्यस्तै कमजोर पक्ष नभएको वा कम भएको परम्परा हो । त्यसैले यसलाई अन्त्य गर्नु हुदैन, निरन्तरता दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्