| सोमवार, कार्तिक २३, २०८३

महिला हिंसामा पर्नुभयो ? नआत्तिनुस्, ओसिएमसी छ

घरेलु हिंसा, यौन हिंसा, लैंगिक हिंसा जस्ता विभिन्न शीर्षकका हिंसाबाट पिडित भएकाहरुलाई गोरखा अस्पतालस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र(ओसीएमसी)ले उद्धार गरिरहेको छ ।

बिगत २०७४ सालदेखि सेवा सुरु गरेको ओसीएमसीले २०७९÷०८० मा मात्र ३१ जना महिलाले सेवा लिएका छन् ।
पिडित भएर कतैबाट पनि मुक्ति पाउने छाँटकाँट नदेखेपछि कतिपय महिलाहरुले गलत निर्णय पनि लिनसक्छन् । त्यसैले उनीहरुलाई उद्धार गर्न सरकारले एकद्वार संकट व्यवस्थापन केन्द्र(ओसीएमसी) स्थापना गरी सञ्चालन गरिरहेको छ । घरेलु हिंसा, यौन दुव्र्यवहार लगायतका हिंसाबाट पीडित महिला तथा किशोरीहरुलाई ओसिएमसीले बहुपक्षीय संयोजनद्वारा सेवा दिने गर्छ ।

गोपनीयताप्रति चिन्ता छैन । व्यक्तिको गोपनीयताको अधिकार(राइट टु प्राइभेसी)को सुनिश्चितता गर्दै ओसीएमसीले गोप्य सेवा दिने गर्छ । सो सेवाका लागि अस्पतालले एक विशेषज्ञ डाक्टर र एक नर्स नियुक्त गरेको छ ।

ओसिएमसीले समस्यामा परेका महिला तथा किशोरीहरुको सामाजिक सुरक्षा, समुदायमा पुनस्थापनालगायतका विषयलाई प्राथमिकतामा राखेर सेवा दिने गर्छ । त्यसका लागि ओसिएमसीका लागि अस्पतालले छुटै कक्ष संचालन गरेको छ । समस्यामा परेकाहरुलाई जिल्ला प्रहरी कार्यलयको समन्वयमा आवश्यक सुरक्षाको व्यवस्था मिलाई सो सेवा दिने गरिन्छ ।

विशेषतः पीडितहरुलाई मनोसामाजिक परामर्श दिइन्छ । उनीहरुको आवश्यक चिकित्साजन्य प्रमाण संकलन र संरक्षण गरी परिवार र समुदायमा पुनस्र्थापन गर्न सहयोग गर्ने गर्छ । समाजमा पुनस्र्थापना नहुञ्जेल पीडितलाई अस्पतालमै अल्पकालीन आश्रय दिइन्छ । आवश्यकता हेरी त्यस्ता महिलाहरुलाई जीविको पार्जनमा सहयोग पुग्ने सीप प्रदान गरी सामाजिक पुनर्मिलन गराइन्छ ।

समाजमा कोही पनि हिंसाको सिकार नबनुन् । यदि कोही महिला, किशोरी तथा बालबालिकाहरु समस्यामा परेका भए चिन्ता नगरौँ, गलत निर्णय पनि नलिऔँ, किनभने गोरखा अस्पतालमा ओसिएमसी छ, त्यसले प्रभावकारी उद्धार गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्