
ध्यान खानीगाउँतिर पनि पुगोस्
गोरखा भूकम्प २०७२ पछि धार्चे लगायत धेरै गाउँपालिकाका धेरै गाउँबस्ती क्षतविक्षेत भए । त्यसको भोलिपल्टदेखि भीषण बर्षा हुन थाल्यो । भूकम्पले हल्लाएर खोक्रो पारेको जमिनमा पानी पर्न थालेपछि धेरै ठाउँमा पहिरो गयो ।
लाप्राक जोखिम बन्यो, त्यसैले लाप्राकका करिब ६०० घर परिबारलाई सुरक्षित स्थानमा राख्न गुप्सी बस्ती बनाइयो । यस्तै समस्या केरौंजामा पनि थियो । उनीहरुलाई लामावेशीमा पुनस्थापित गराउन हदैसम्मको प्रयास गरियो, तर धेरै कम घरधुरी मात्र त्यहाँ बस्न आए ।
यस्तै समस्या धार्चे ७ खानीगाउँमा पनि छ । तीनबर्षअघिसम्म त्यहाँ ४०, ४५ घरधुरी बिस्थापित भइसकेका थिए । यसपटकको झरीले फेरि थप २६ घर जोखिममा पारेको छ । उनीहरु घर छोडेर कोही आफन्तको घरमा, कोही गोठमा र कोही त्रिपाल टाँगेर बस्न थालेका छन् ।
यसअघि उनीहरुलाई पुनस्थापना गराउन धार्चे गाउँपालिकाले निर्णय पनि गरेको थियो तर स्थानीयबासी गाउँघर छाड्न असहमत भएपछि सो निर्णय थाती बसेको थियो । यसबर्ष पनि झरी परेपछि गाउँ चिराचिरा परेको छ । २६ घरधुरीका बासिन्दाले घर छाडिसके ।
सुरक्षित स्थानमा स्थानान्तरण गर्न गाउँलेको पूर्वसर्त भनेको ओत लाग्ने घर मात्र भएर भएन, हामीलाई गरिखाने जमिन पनि चाहिन्छ भन्ने हो । सरकारले मुस्किलले ओत लाग्ने सुरक्षित घर बनाइदिन सक्छ, तर गरिखाने जग्गा जमिनको व्यवस्था गर्न सक्दैन भन्ने विगतका कैयौँ नजिर बोल्छ ।
बरु उनीहरुलाई लाप्राकीलाई गुप्सी जस्तै नजिकैको सुरक्षित जग्गा खोजेर त्यसको हकभोग गर्न दिने निर्णय गरेर पुरानो बस्ती नजिकै पुनस्थापित गरेमा त्यो दीगो र सर्वमान्य पनि हुनसक्छ । त्यसको वातावरण मिलाउन गाउँपालिकाले नेतृत्व गर्नुपर्छ ।




