
जग्गा बाँझो नराख्ने कार्यक्रम प्रवद्र्धन गर
मुलुकमा आर्थिक क्रान्ति ल्याउन धेरै ठूलो भाषण गर्न जान्ने नेताको पनि खाँचो पर्दैन । इच्छाशक्ति तथा प्रतिवद्धता छ भने सामान्य कुराबाट सुरुवात गरेर पनि मुलुकलाई यथाअबस्थाबाट परिवर्तन गर्न सकिन्छ ।
हाम्रो नेपालको सबैभन्दा ठूलो समस्यामध्य जग्गा बाँझो रहनु पनि एक हो । जग्गा बाँझो रहेको समस्या बिकराल बन्दैछ । बाँझो जग्गा उपयोग गर्ने नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सके नेपाललाई खाद्यान्नमा आत्मनिर्भर गराउन सकिन्थ्यो । तब खाद्यान्नमा परनिर्भरता हट्छ, देश उँभो लाग्न समय लाग्दैन ।
दुई छिमेकी मित्रराष्ट्र भारत र चीनमा बाँझो जग्गा देख्न पाइँदैन । ती मुलुकहरुका मान्छेहरु चोक, चौतारा, भट्टी पसलहरुमा पोर्ट, चेस, जुवा, तास, बागचाल खेल्दै, विश्वलाई बशमा राख्न सक्ने जस्ता उट्पट्याङ गफ चुट्दैनन । उनीहरुलाई काम गरेर फुर्सद छैन, र उँभोगतितिर छन् । तर हामी नेपालीलाई फुर्सदै फुर्सद, त्यसैले वाहियात गफ, अनेकानेक तर्क, बितर्क गर्न माहिर छौँ, मतिभ्रष्ट भएका छौँ ।
मुलुक संघीयतामा गएको छ । कम्तिमा स्थानीय सरकारहरुले जग्गा बाँझो नराख्ने नीति लागु गरे भने परिवर्तनको छनक देख्न पाइन्छ । जग्गा बाँझो नराख्ने नीति प्रभावकारी रुपमा लागु भयो भने मान्छेहरु बेरोजगार हुनेछैनन् । उत्पादन वृद्धि हुनेछ, आर्थिक उपार्जन पनि हुनेछ, आत्मनिर्भरता बढ्नेछ, वैदेशिक रोजगारीमा जाने क्रम घट्नेछ, देश मजबुद बन्नेछ ।
यसको नमूना हेर्न धेरै पर(पश्चिमा मुलुक) पुग्नु पनि पर्दैन । जग्गा बाँझो नराख्ने, कृषि उत्पादनलाई जोड दिने, श्रमप्रति सम्मान गर्ने नीति अवलम्बन भएका छिमेकी भारत, चीन हेरे पुग्छ । त्यसैले तीनै तहको सरकारले जग्गा बाँझो नराख्ने नीति अवलम्बन गरी विभिन्न प्याकेजका कार्यक्रम बनाई लागु गर्नु अति उत्तम हुनेछ ।




