| सोमवार, कार्तिक २३, २०८३

गोरखा बजारका खानेपानी आयोजना विवादमुक्त बनुन्

काम गर्नेलाई जति कठिनाइ हुन्छ, कुरा काट्नेलाई त्यो कठिनाइको कुनै अनुभूति नै हुदैन । यहाँ अरुको खिसिट्युरी गर्ने, यसले यसो गर्न सकेन, उसले त्यसो गर्न सकेन भनेर अर्काको बदख्वाइँ गर्न सबै सक्छन्, तर समस्या समाधान गरेर अघि बढ्न तम्सिने कमै हुन्छन् ।

गोरखा सदरमुकाम बजारका खानेपानी आयोजनाहरुमा अहिले त्यस्तै अबस्था छ ।
गोरखा नगरपालिका वडा नं. ३, ४, ५, ६, ७, र ८ का उपभोक्तालाई खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ २०७४ सालदेखि सुरु भएको दरौँदी लिफ्टिङ वृहत खानेपानी आयोजना अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । यसअघि सञ्चालित २२ वटा खानेपानी उपभोक्ता समितिलाई ग्राहक बनाएर सञ्चालन हुने सहमति अनुसार सुरु भएको सो आयोजनाले अहिलेसम्म पानी वितरण गर्न सकेको छैन ।

कोभिड तथा अन्य विभिन्न कारण देखाउँदै रमन एण्ड जेभी कम्पनी म्याद थप गर्दै बसेको छ ।
दैनिक २५ लाख लिटर पानी उपलब्ध गराउने यसअघि निर्धारण गरिएको लक्ष्य थियो । तर सो आयोजनाले बेलाबेला दैनिक एकलाख, दुईलाख लिटर मात्र पानी उपलब्ध गराउँदै आएको छ । संकलित महसुलको ८० प्रतिशत मातृ दरौँदी आयोजनालाई दिने र २० प्रतिशत भातृ उपभोक्ता संस्थाले राख्ने समझदारी भएको थियो ।

तर वैमनस्यताका कारण सबैभन्दा ठूलो ग्राहक मानिएको पृथ्वीनारायण खानेपानी उपभोक्ता संस्थाले सो आयोजनाको पानी नकिन्ने जनाएको थियो । तर अहिले दरौँदी आयोजना व्यवस्थापनमा सुदृढीकरण गरी संवृद्ध बन्न नसकेकाले पानी वितरण गर्न नै नसक्ने अबस्थामा पुगेको छ ।

एकातिर साना सहरी खानेपानी आयोजना पनि विभिन्न कारणले विवादमुक्त बन्न नसकेको अबस्था छ । पछिल्लो चरणमा भने सम्पूर्ण समस्या समाधान गरी सुदृढीकरण गर्ने प्रयास गरिरहेको छ । तैपनि बक्यौताका विषयमा अस्तव्यस्ता देखिएको छ ।

यी दुवै आयोजनाले आफ्नो कार्य कुशलता देखाई समस्या समाधान गरुन्, विवादरहित बनुन् ।

प्रतिक्रिया दिनुहोस्