| सोमवार, कार्तिक २३, २०८३

कृषिमा युवापुस्ता आकर्षित हुने योजना ल्याउ

युवापुस्ता बिदेश पलायन हुने क्रम बढेसँगै खेतियोग्य जमिन बाँझो रहने क्रम पनि बढेको छ । कृषि प्रधान देश भएपनि खाद्यान्नका लागी आत्मनिर्भर हुन नसक्नु बिडम्वना छ । कृषि उपजको निर्यातभन्दा आयात दर बढी छ ।

कृषि क्षेत्रप्रति युवाहरुको बिकर्षणले पनि दिनानुदिन परनिर्भर बन्न पुगेको तितो यथार्थ स्वीकार गर्नैपर्छ । युवाको श्रमलाइ कृषि क्षेत्रमा लगाउन चुकेकै देखिन्छ । युवापुस्तालाइ कृषि क्षेत्रतर्फ आकर्षित गराउने खालका योजनाहरु ल्याउन सकेमात्र कृषि क्षेत्रको बिकासमा केही टेवा पुग्ला ।

बैदेशिक रोजगारबाट फर्किएकाहरु कृषि पेशामा संलग्न हुन थालेका उदाहरणहरु पनि छन् । कृषि पेशामा लगानी गर्दै उनीहरु रमाइरहेका पनि छन् । तर राज्यको तर्फबाट आवश्यक तालिम र अनुदान उपलब्ध गराउन नसक्नु दुखद हो । राज्यले पनि कृषि क्षेत्रमा ठुलै लगानी गरेको छ ।

बिभिन्न तालिम तथा अनुदानका कार्यक्रम पनि नल्याएको होइन । तर लक्षित वर्गसम्म ती कार्यक्रमहरु पुग्न सकेको अवस्था छैन । तालिम र अनुदानमा पहुँचवालाकै हावी छ । यसले वास्तविक किसानहरुमा निराशा छाउने गरेको छ । कृषि क्षेत्रको मुख्य समस्या उत्पादित कृषि उपजले बजार नपाउनु हो । अव अनुदानसँगै उत्पादित उपजहरुको बजार व्यवस्थापनमा पनि सम्बन्धित निकायले चासो दिनुपर्छ ।

युवाहरुको आकर्षण केन्द्रित गर्न एक त प्रभावकारी योजना तथा कार्यक्रम ल्याउनुपर्छ । अर्काे आवश्यक अनुदान तथा तालिम उपलब्ध गराउनुपर्छ । उत्पादित कृषि उपजको बजार व्यवस्थापनमा सहजिकरण गर्न सकेमा कृषि क्षेत्रप्रति आकर्षण बढ्नेमा दोमन छैन ।

प्रतिक्रिया दिनुहोस्