| सोमवार, कार्तिक २३, २०८३

मनास्लु क्षेत्रमा पर्यटनसम्बन्धी पूर्वाधार विकास गर

मनास्लु क्षेत्र सन् १९९५ देखि विदेशी पर्यटकका लागि खुल्ला गरिएको हो । त्यस समयदेखि अहिलेसम्म पर्यटक आवागमन निरन्तर बढिरहेको छ । यसबर्ष सबैभन्दा धेरै सातहजार सातसय १२ जना पर्यटक सो क्षेत्रको अवलोकन गर्न आएका छन् । यसअघि धेरै आएको भनिएको आर्थिक वर्ष २०७५÷७६ मा सातहजार ६५५ जना पर्यटक मनास्लु क्षेत्र भ्रमणका लागि आएका थिए ।

बिगत चारबर्षमा कोभिडका कारण पर्यटकको संख्या ज्यादै न्यून थियो । आवश्यक पूर्वाधार निर्माण भएमा आउँदा बर्षहरुमा पनि निरन्तर पर्यटकको संख्या बढ्नेमा कुनै दोराय हुनेछैन । तर मनास्लु क्षेत्रमा राम्रो पूर्वाधार छैन । पदमार्ग सुरक्षित छैन । ठाउँठाउँमा खानेपानीको धारा छैनन् । भरियाका लागि पोर्टर हाउसहरु पनि छैनन् ।

मनास्लु क्षेत्रलाई अभैे पर्यटक भरिभराउ बनाउन स्थानीय सरकारले धेरै चासो दिनुपर्छ । आफूले सक्नेजति आफूले, नगसक्ने जति पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, एमक्याप, टानजस्ता सम्बन्धित निकायहरुलाई परिचालन गरी पूर्वाधार निर्माण गर्नुपर्ने खाँचो देखिन्छ ।

बेलाबेलामा स्थानीय उच्छृङ्खल युवाहरुले पर्यटकमाथि दुव्यवहार गर्ने गरेको भिडियोहरु पनि सार्वजनिक हुने गरेका छन् । त्यस्ता कार्यलाई निरुत्साहित गर्न र पर्यटकलाई रिझाउन स्थानीयबासीलाई अभिमुखीकरण गर्ने, होटल व्यवसायी तथा त्यहाँ काम गर्ने कामदारलाई पनि पर्यटकमैत्री व्यवहार गर्न प्रशिक्षित गर्ने जस्ता कार्यक्रमको पनि खाँचो छ । लार्केपासमा त पथप्रदर्शक चिन्ह(पोल)हरु बाक्लै बनाउनु पर्ने छ । साथै लार्केपास गरिसकेपछिको बाटो धेरै नै जोखिम भएकाले त्यहाँ समात्ने खाँबो वा साङ्ला बनाउनु जरुरी छ । त्यहाँ बेलाबेला पर्यटक फँस्ने तथा दुर्घटना हुने घटना भइरहेको पाइन्छ ।

सबैभन्दा ठूलो चुनौति त अब त्यस क्षेत्रमा सडक निर्माण हुदैछ । अब सडकमा धुलो उँडाउँदै जीप, ट्याक्टर कुद्ने, पर्यटक मास्क लगाउँदै वा रुमालले मुख छोप्दै छेउछेवै हिँड्नु पर्ने अबस्था आउँदैछ । त्यस्तो भएमा पर्यटक संख्या पक्कै घट्नेछ । त्यसैले सडक बनेसंगै वैकल्पिक पदमार्ग बनाउनु अति जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्