| सोमवार, कार्तिक २३, २०८३

चिनियाँ नाका खुलाउन पहल गर

२०७६ सालको पुस महिनादेखि बन्द रहेको चिनियाँ नाका अहिलेसम्म खुलेको छैन । चुमनुब्री गाउँपालिका वडा नं. १ को रुईला नाका र वडा नं. ७ को ङुइला नाका चारबर्षदेखि नखुल्दा स्थानीयबासी समस्यामा छन् ।

समस्यामा यो अर्थमा कि, २०७६ सालअघि ङुइला नाका बाह्रै महिना खुल्ला थियो । रुईला नाका बर्षमा एक फेर वा दुईफेर १५ दिनका लागि खुल्ला गरिन्थ्यो । त्यतिबेला चुमनुब्री गाउँपालिका वडा नं. १, २, ४ र ५ का बासिन्दा आ–आफ्ना याक, चौरी, झोपा लिएर सामान खरिद गर्दथे । बर्षमा एकदुई फेर ढुवानी गरिएको दैनिक उपभोग्य सामानले त्यस क्षेत्रका बासिन्दाले आफ्नो जीवन यापन गर्ने गर्दथे । वडा नं. ६ र ७ का बासिन्दाले त आवश्यक परेका बेला बाह्रै महिना सो नाका हुँदै उपभोग्य सामान ल्याउन पाउँथे ।

तर चार बर्षदेखि यो क्रम रोकिएको छ ।

अहिले बर्खाका बेला विभिन्न ठाउँमा पहिरो जाँदा बाटो अवरुद्ध ट । तल्लो भेगको बजारबाट खच्चडमा ढुवानी गरेर अत्यावश्यकीय सामान ढुवानी गर्ने क्रम पनि रोकिएको छ । अब बर्षात रोकिएपछि बाटो सुचारु गरेपछि मात्र तल्लो भेगबाट सामान ढुवानी सुचारु हुनेछ ।

अहिले दुवैतिरबाट सामान ढुवानी ठप्प भएपछि दुर्गम क्षेत्रमा दैनिक उपभोग्य बस्तुको भाउ आकासिएको छ । स्थानीयबासीका अनुसार नून प्रति किलो एकसय ६० पुगेको छ । खानेतेल प्रति लिटर छसय रुपैयाँ पुगेको छ । चामल प्रति बोरा छ हजार पुगेको छ ।

यी बाहेक त्यस क्षेत्रमा अति प्रयोग हुने घ्यू चियाका लागि आवश्यक पर्ने सामान तथा तिब्बती बजारमा मात्र पाइने सामानको अभाव छ । सीमा वारि र पारि बस्ने उनीहरुको इष्टमित्रसंग भेटघाट नभएको पनि चार बर्ष भइसकेको छ । यी विभिन्न समस्याले गर्दा त्यहाँको बन्द रहेको नाका तत्काल खुलाउन पहल गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्