
आयोजना निर्माण सम्पन्न हुने बेला कम्पनी कार्यालय उद्घाटन
बहुप्रतिक्षित, बहुउद्देश्यीय, राष्ट्रिय गौरवको भनिएको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको बुधबार कार्यालय उद्घाटन गरिएको छ । प्रधानमन्त्री प्रचण्डले गण्डकी ८ सिउरेनीटारस्थित यसअघि वातावरण मुआव्जा पुनर्वास तथा पुनस्थापना इकाइ रहेको कार्यालयमा बूढीगण्डकी जलविद्युत कम्पनीको कार्यालय उद्घाटन गरेका हुन् ।
२०७१ सालमा जेडिई कन्सल्ट प्रालि र एनईएसएस प्रालिसंग सहकार्य गरी फ्रान्सको ट्रयाकबेल इञ्जिनियरिङ एसएले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन हस्तान्तरण गर्दा आठबर्षभित्र आयोजना निर्माण सम्पन्न हुने बताएको थियो । तर यो अवधिभरि निर्माणको सिन्को नभाँचिएको सो आयोजनाको बुधबार कार्यालय मात्र उद्घाटन भएको छ ।
निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने बेला बल्तल्ल कार्यालय उद्घाटन हुँदा स्थानीयबासी न आस्वस्त छन्, न खुशी । उनीहरुलाई कार्यक्रम, सभा, समारोह,भाषण भन्दा काम अनि नतिजा चाहिएको छ । उद्घाटन समारोहमा बुधबार सबैका आ–आफ्ना नेता महोदयहरु आए र भव्य भाषणभुषणहरु भए ।
आयोजना निर्माणका लागि यथासीघ्र पहलकदमी चाल्नुपर्ने माग राख्दै कार्यक्रमस्थल पुगेका बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समिति र बूढीगण्डकी जलविद्युत आयोजना समिति आरुघाट–विशालनगरका अध्यक्षसहित तीनजनालाई केहीबेर नियन्त्रणमा राखियो । यो घटनाले स्थानीयको पोलेको घाउमा नूनचुक छर्किने काम भयो ।
प्रधानमन्त्रीले बूढीगण्डकी आयोजना निर्माण कार्य यथासीघ्र निर्माण सम्पन्न हुन्छ भनेर आश्वस्त पार्ने प्रयास गरेका छन् । तर २०३५ सालदेखि पहिचान भएर गुमनाम हुदै आएको सो आयोजना कहिले चर्चामा आउने, कहिले छिप्ने गर्दै आएको छ । त्यसैले फेरि पनि गुमनाम नहोला भन्न सकिन्न ।
अब भाषण धेरै भइसकेको छ । अब यथासीघ्र लगानीकर्ता खोजौँ, बूढीगण्डकी आयोजना निर्माणको काम अघि बढाऔँ ।




