| सोमवार, कार्तिक २३, २०८३

मध्यपहाडीको कामले तिब्रता पाओस्

मध्यपहाडी लोकमार्गका जनक डाक्टर बाबुराम भट्टराई हुन् भन्दा कसैले दिल कुँड्याउनु पर्ने, कसैले संकोच मान्नु पर्दैन । किनभने २०६५ सालमा उनी अर्थमन्त्री हुँदा उनले मध्यपहाडी लोकमार्ग बनाउने प्रस्ताब गरेका थिए ।

तराई हुदै पूर्व–पश्चिम जोड्ने राजमार्ग(महेन्द्र राजमार्ग) निर्माण भइसकेको थियो । अब खाँचो थियो, पहाड हुँदै पूर्वपश्चिम जोड्ने लोकमार्गको । यो अबस्थामा तत्कालीन अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्गको अवधारणा अघि सारेका थिए । गणतान्त्रिक नेपालको पहिलो सरकारमा अर्थमन्त्रीको हैसियतले डाक्टर भट्टराईले प्रस्ताव गरेको र उनकै अर्धाङ्गिनी भौतिक योजना तथा निर्माण मन्त्री हिसिला यमीले पेश गरेको मध्य पहाडी लोकमार्गको रेखांकन प्रस्ताव २०६५ फागुन २६ को मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो ।

त्यसपछि पूर्व पाँचथरको चियोभञ्ज्याङदेखि पश्चिम बैतडीको झुलाघाटसम्म मध्यपहाडी लोकमार्ग निर्माण आरम्भ भएको थियो ।

लोकमार्गको सिलान्यास भएको १५ बर्षको यो अवधिमा धेरै प्रतिशत सडक कालोपत्रे भइसकेको छ । तर मध्यपहाडी लोकमार्गका जनक डाक्टर बाबुराम भट्टराईको गाउँ खोप्लाङ खण्ड भने बिगत १० बर्षदेखि अलपत्र छ ।

गोरखाको आरुघाटदेखि पालुङ्टारसम्म ६६ किलोमिटर पर्छ । त्यसमध्य खोप्लाङको १३ किलोमिटर खण्ड नुवाकोट, धादिङ, गोरखा, लम्जुङ चार जिल्लामध्य सबैभन्दा क्रोनिक भएको खण्ड हो । मसानेठाँटीदेखि ठाँटीपोखरीसम्मको १३ किलोमिटरमध्य पनि खोप्लाङको तीन किलोमिटर खण्ड ट्रयाक ओपन मात्र भएको छ । नाला खन्ने, चौडा बढाउने, ग्राभेल(सब–बेस) पनि हुन सकेको छैन ।

लामो समयसम्म वन विवादले अल्मल्यायो । अहिले वन विवाद टुंगो लागेको छ, तर ठेकेदारको अकर्मण्यताका कारण सडक निर्माण हुन सकेको छैन । सो कामको जिम्मा पाएको हिमडुङ, प्यासिफिक जेभी कम्पनीले ठेक्का सम्झौता भएको पाँचबर्ष बितिसक्दा अहिलेसम्म जम्मा २९ प्रतिशत मात्र प्रगति गरेको छ ।

सो सडक प्रधानमन्त्री प्रचण्डको निर्वाचन क्षेत्रमा पर्दछ । त्यति मात्र होइन, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको गृहनगर, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको क्षेत्र र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगरमा पर्छ । तर सडकको अबस्था यस्तो हुनु ज्यादै दुखद छ ।

प्रतिक्रिया दिनुहोस्