| सोमवार, कार्तिक २३, २०८३

सडकका खाडल पुरेर दुर्घटना जोखिम घटाउ

बर्खाको समयमा सडक खन्न नदिने निर्णय गरेर सडक बिभागले केही प्रशंसा त कमायो तर त्योसँगै सडकका खाल्टाखुल्टी पुर्ने र भत्किएको सडक मर्मत गर्ने निर्णय गर्न सकेको भए बिभाग थप प्रशंसाको पात्र बन्ने थियो । बिभाग यसमा चुकेको छ । सडकका खाडल पुर्ने र भत्किएका सडक मर्मत गर्ने कार्य बिभागको प्राथमिकतामा कहिलै परेन । यसको दुर्घटनाको जोखिम बढाएको पक्कै छ ।

अधिकांश कच्चि रहेको जिल्लाका सडकमा बर्खाको समयमा यात्रुले भोग्ने पीडाको नजरअन्दाज गर्न मिल्दैन । उसो त बर्खाको समयमा अधिकांश कच्चि सडकमा सवारी आवागमन ठप्प जस्तै हुन्छ । जसोतसो सवारी संचालन हुने सडकमा पनि खाल्टाखुल्टीले जोखिम बढाएको छ । कतिपय सडक निर्माणमा ठेकेदारको लापरवाहीले सिमा नाघेको छ । सडक खनेर अलपत्र छाड्ने गैरजिम्मेवार प्रवृत्ति हावी छ । कतिपय सडक खाल्टा नपुरी धराप बनाएर छाडिएका छन् । ठेक्का लगाएपछि त्यसको अनुगमन र सुपरिवेक्षण समयैमा गर्ने र काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने हिम्मत राख्न सकेमा सडक लामो समयसम्म धराप बनिरहने पक्कै थिएन ।

सडकमा आवागमन गर्नेहरूको सुविधा र सुरक्षाको ख्याल राख्ने हो भने सडक भत्काएर एक दिनपनि छाड्न नपाइने नियम लागु गर्नुपर्छ । जुन दिन जति बनाउन सकिन्छ त्यतिमात्र भत्काउने चलन बसाए सडक धरापमुक्त हुनेछ । वर्षाअघि नै सम्बन्धित पालिकालगायत अन्य निकायसँग समन्वय गरेर सडकमा जोखिम बढाउने खाडलहरू पुर्न सम्बन्धित निकायले संक्रियता देखाओस् ।

प्रतिक्रिया दिनुहोस्