
दुरसञ्चारको सेवा गुणस्तर बनाउ
नेपाल दुरसञ्चार प्राधिकरणले जिल्लामा प्रवाह गरिरहेको सेवाप्रति असन्तुष्टीको चाङ छ । टेलिफोन होस् वा इन्टरनेट दुवै सेवाको गुणस्तर कायम गर्न सेवा प्रदायक संस्था चुकिरहेको छ । शनिवार प्राधिकरणले गोरखा सदरमुकाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पनि प्राधिकरणको सेवालाई लिएर धेरै गुनासाहरु उठे । यसबाट पनि प्राधिकरणले प्रवाह गर्दै आएको सेवा गुणस्तरीय छैन भन्ने छर्लङ्ग हुन्छ । प्राधिकरणले गुणस्तर सेवामा ध्यान दिनु जरुरी छ ।
ग्रामिण भेग र सरदमुकामबीच जति दुरी बढ्दै जान्छ तव फोन र इन्टरनेट सेवाको गुणस्तरले पनि साथ छोड्दै जान्छ । जिल्लाका कतिपय क्षेत्रमा इन्टरनेट त परको कुरा मोवाइल टावर समेत टिप्दैन । उत्तरी गोरखाका अधिकांश भेगका स्थानीयले यो समस्या बढी भोग्दै आएका छन् ।
ग्रामिण भेगको कुरा छाडौ, जिल्ला सदरमुकाममै पनि नेट र फोनको समस्या उस्तै छ । सामुदायिक बिद्यालयमा जडान भएका इन्टरनेट नाममा मात्र सिमित छन् । सरकारी कार्यालयहरुमा जडित इन्टरनेट सेवाको पनि कछुवाकै गति छ । जव बिद्युत जान्छ तव ल्याण्डलाईन फोनको लाइन स्वतः काटिन्छ । बिद्युत नभए टेलिफोन सेवा पनि उपभोग गर्न नपाउने ? कस्तो अचम्म ! शुल्क वृद्धितर्फमात्र ध्यान केन्द्रिय हुने सेवा प्रदायक संस्थाहरुले सेवाको गुणस्तर वृद्धिमा पनि ध्यान दिनुपर्छ ।
हुन त पछिल्लो समय प्राधिकरणले सेवा बिस्तार गरिरहेकै छ । तर सेवा बिस्तारसँगै सेवाको गुणस्तरलाई पनि बृद्धि गर्दै लैजानुपर्छ । नाफामूलक भन्दा पनि सेवामूलक संस्थाको रुपमा प्राधिकरणले आफ्नो पहिचान बनाउन सक्नुपर्छ । सेवा बिस्तारसँगै गुणस्तरीय सेवा प्रवाहमा पनि प्राधिकरणको ध्यान जाओस् ।




