
विद्यार्थीको समस्या समाधान गर्ने पालुङ्टार नगरपालिकाको पहलकदमी
पालुङ्टार नगरपालिकाले वडा नं. ९ को बिर्दीस्थित खारखोलामा ट्रस्ट पुल निर्माण गरेको छ । बर्खाका बेला विद्यार्थी हेलिएर धर्मोदय मावि जानुपर्ने सो ठाउँमा ट्रस्टब्रिज निर्माण गरेर पालिकाले उनीहरुको समस्या समाधानको पहल गरेको हो ।
सो पुल निर्माणका लागि हिमाली क्षेत्र विकास केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।
सो विर्दीस्थित चुतीखोलामा गतबर्ष बाढीले क्षतिग्रस्त बनाएको कल्भर्ट पनि पालिकाले मर्मत सम्भार गरेको छ । पुल क्षतिग्रस्त भएपछि बिगत एकबर्षदेखि सो सडक भएर आवतजावत गर्नेहरुले चुतीखोलाको बाढीबाट चारपाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन तार्ने गरेका थिए ।
बाढी आएका बेला पनि जोखिम मलेर सो खोलामा सवारी साधन तार्नुपर्ने बाध्यता थियो ।
पालिकासंग त्यति धेरै बजेट हुदैन । भएको बजेटलाई राम्ररी व्यवस्थित गरेर स्थानीयबासीलाई अति आवश्यक परेको काम सल्ट्याउन सकियो भने त्यो काम देखिन्छ ।
तर कतिपय पालिकाले सवारी साधन मर्मतमा हरेक बर्ष ६०, ७० लाख खर्च गरेका हुन्छन् । खाना तथा खाजा खर्च भनेर ४५, ५० लाख खर्च गरेका हुन्छन् । अनुगमन भ्रमण भनेर ४५, ५० लाख खर्च गरेका हुन्छन् । पालिकासंग आफ्नै सवारी साधन हुँदाहुँदै पनि फेरि अर्को गाडी भाडामा लिएर पालिकालाई आर्थिक भार पारिरहेका हुन्छन् ।
जरुरी नहुँदा पनि बैठक गरेर बैठक भत्ता लिएका, नियम विपरीत डेराभाडा, खानेबस्ने खर्च पनि पालिकाबाट लिने, अनावश्यक रुपमा पिए भर्ना गर्ने जस्ता कार्यक्षेत्र नाघेर पालिकाको ढुकुटी रित्याउने दुश्प्रयास गर्नेहरु पनि छन् ।
जनप्रतिनिधिले आफूलाई शासक नसम्झी, मौका पाएका बेला जहाँ, जति पायो त्यति खर्च गर्ने भन्ने नियत नराखी निश्वार्थ रुपमा पालिकाको सेवा गर्नुपर्छ । पालिकाबासीलाई अति खाँचो भएको कार्यक्रम गरेर सेवाभावले काम गर्नुपर्छ ।
गतबर्ष भेलबाढीमा हेलिएर पढ्न गएको विद्यार्थीको फोटो भिडियो भाइरल भएको थियो । पालिकाले सो समस्या समाधान गरेर जनसेवाको सत्प्रयास गरेको छ । यसमा पालिका धन्यवादको पात्र बनेको छ ।




