
पालिकाको बजेट दुरुपयोग नहोओस्
गोरखाका ११ वटै पालिकाको बेरुजुको अबस्था हेर्दा बजेट कसरी दुरुपयोग हुँदा रहेछन् भन्ने नमूना देखियो । खर्च गराइको प्रकृति हेर्दा गाउँपालिकाका पदाधिकारी र जिम्मेवार कर्मचारीको प्रवृत्ति पनि खुलस्त भयो ।
सबै पालिकामा चालु शीर्षकको भन्दा विकास बजेट दोब्बर कम खर्च भएको छ । यसले विकास बजेट खर्च गर्ने पालिकाको सामथ्र्यमा अभाव देखिएको छ ।
अधिकांश पालिकाहरुको २० औँ शीर्षकमा सुन्यप्रतिशत कार्यप्रगति भएको पनि पाइयो । खर्च भएका कैयौँ उदाहरण हेर्दा अनाधिकृत खर्च देखिएको छ । सार्वजनिक खरिद ऐन विपरीत पालिकाहरुले प्रतिस्पर्धा नगराई खरिद गरेका छन् । कैयौँ पालिकाले नियम विपरीत रकमान्तर गरी खर्च गरेका छन् । कैयौँ पालिकाले प्रचलित दररेट भन्दा धेरै दरमा खरिद गरेर अनाधिकृत काम गरेका छन् ।
प्राय सबै पालिकाहरुले खाना र खाजा शीर्षकमा अस्वभाविक खर्च गरेको देखियो । सकेसम्म मितव्ययी भएर पालिकाको बजेट परिचालन गर्नुपर्नेमा सकेजति खर्च गर्ने, अमनचयन गर्ने गरेको देखिएको छ ।
त्यस्तै पालिकाहरुले अनुगमन तथा भ्रमण खर्च भनेर ४० औँ लाख, ५० औं लाख खर्च गरेको देखियो । त्यस्तै अनावश्यक रुपमा बैठक बसेको भन्दै बैठक भत्ता लिई पालिकालाई आर्थिक भार बढाएको देखियो । त्यस्तै कार्यालयको नाममा सवारी साधन हुँदाहुँदै महंगो भाडादरमा गाडी भाडामा लिएर चलाएका छन् । यसले जनप्रतिनिधिले सौखिन बनेर पालिकालाई आर्थिक भार बढाएको पाइन्छ । गाडी मर्मत भनेर ६० औं लाख खर्च गरेको पनि देखियो ।
आवश्यक भन्दा बढी सामान खरिद गरी पालिकालाई आर्थिक भार बढाएको, पालिकासंग दक्ष जनशक्ति छँदाछँदै कन्सल्याण्ट भाडामा लिएको नाममा पालिकालाई आर्थिक भार बोकाएको पनि देखिएको छ ।
सकेसम्म पालिकालाई आर्थिक भार कम गराउने प्रवृत्ति प्राय पालिकामा देखिएन । पालिकालाई भन्दा आफ्नो सौख र स्वार्थलाई केन्द्रमा राखी काम गरेको बेरुजुको प्रकृति हेर्दा देखियो ।
आगामि दिनमा जनप्रतिनिधि तथा जिम्मेवार कर्मचारीले फजुल खर्च न्यूनिकरण गरुन्, पालिकालाई आर्थिक भार बढाउने काम नगरुन् ।




