
ठेकेदारले गरे हिम्डुङ प्यासिफिक कन्स्ट्रक्सनको बदनाम
भनिन्छ, फूलको बासना वरिपरि, मान्छेको वासना डाँडापारि ।
नाम कमाउन, कीर्ति फिँजाउन धेरै त्याग, तपस्या गर्नुपर्छ । स्थापित हुन, नाम कमाउन धेरै समय पनि लाग्छ । विश्वास जित्न धेरै मिहिनेत गर्नुपर्छ । तर बदनाम कमाउन धेरै गाह्रो छैन । काम नगरे पुग्छ । बदनाम कमाउन धेरै समय खर्च गर्नु पनि पर्दैन ।
क श्रेणीमा पुग्नका लागि हिमडुङ र प्यासाफिक निर्माण कम्पनीलाई चानेचुने दुख गर्नुपरेन । तन, मन र धनको ठूलो लगानीपछि चुमेको क श्रेणीको शिखरबाट ओह्रालो लाग्न भने धेरै दुख गर्नु परेन । अहिले प्यासाफिक कन्स्ट्रक्शन प्रालिले जहाँ हात हाल्छ, त्यहाँको काम अलपत्र हुन्छ भन्ने सन्देश निर्माणको क्षेत्रमा छ ।
सो कम्पनीले मध्यपहाडी लोकमार्गको गोरखा खण्डलाई अलपत्र पारिरहेको छ । गोरखा, धादिङ, लम्जुङ, कास्कीमध्य सबैभन्दा ‘क्रोनिक’ आयोजना नै गोरखाको मसानेठाँटी–ठाँटीपोखरीको १३ किलोमिटर खण्ड हो । यो बाटोमा काम हुन नसकेको झण्डै १० बर्ष भयो । यसअघि चौडा बढाउनका लागि वन विभागले रोकेको थियो ।
लामो समयको प्रयासपछि रुख काट्ने र चौडा बढाउने अनुमति पाएको थियो । फेरि ठेकेदार ठाकुर कँडेलले काम नगरिदिँदा स्थानीयबासी चिन्तित छन् ।
ठेकेदार हिमडुङ प्यासाफिक जेभी कम्पनीले काम नगरेर मात्र बद्नाम कमाएको होइन, काम लगाएको मजदुरलाई ज्याला नदिएर पनि बदनाम कमाएका छन् । रुकुम, रोल्पादेखि दुख गरेर जहान परिबार पाल्नका लागि आएका श्रमिकहरुलाई महिनौँसम्म काम लगाएर ज्याला नदिई बेपत्ता हुनु ठेकेदारको बेइमानी मात्र होइन, अमानवीय काम समेत हो ।
त्यस्तै कामदारे रासन किन्ने पसले, खाजा खाने खाजा पसले, काम लगाएको आफ्नै कम्पनीका प्राविधिक कर्मचारी, निर्माण सामग्री खरिद गरेका सप्लायर्स कसैलाई पनि पैसा नतिर्नु ठेकेदारको अक्ष्यम्य गल्ती हो । त्यसैले तिनलाई कानूनी कारबाही गर्नुपर्छ ।




