
गोरखा अस्पतालको फेरि अर्को पुण्य काम
विभिन्न काम गर्दै प्रसंसा कमाउँदै आएको गोरखा अस्पतालले हालै फेरि अर्को प्रसंसनीय काम गरेको छ । ‘डेट’ नजिकिएका गर्भवती र सुत्केरीलाई अस्पतालकै भवनमा कम्तिमा दुईहप्तासम्म निशुल्क रुपमा बस्ने र खाने व्यवस्था गरेर गोरखा अस्पतालले अर्को पुण्य काम गरेको हो ।
अस्पतालको यो कार्यक्रमले सुरक्षित रुपमा सुत्केरी हुनका लागि गाउँबाट सदरमुकाम आएर डेरा लिएर बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
गाउँगाउँमा २४ घण्टे प्रसुतीकेन्द्र नभएका होइनन् तर उपकरण तथा शल्यक्रिया गर्नुपर्ने भएमा दक्ष जनशक्तिको अभाव हुने हुँदा ‘डेट’ आएका गर्भवतीहरु गाउँघरमा बस्न डराउँछन् । उनीहरु दुई, तीन साताअघिदेखि भरतपुर तथा काठमाडौँ जानुपर्ने बाध्यता थियो ।
तर गोरखा अस्पतालले शल्यक्रिया गर्नुपर्ने भएमा पनि गर्न सक्षमता देखाएपछि त्यस्ता गर्भवतीहरु अब गोरखा अस्पतालमै आएर निर्धारित कोठामा बस्न र अस्पतालले निशुल्क उपलब्ध गराएको कोठामा आएर बस्न पाउने भएका छन् । एकजना बिरामी कुरुवासहित आउनेहँुदा कुरुवा र गर्भवती वा सुत्केरीलाई निशुल्क रुपमा खान र बस्न अस्पतालले व्यवस्था गरिदिने भएको छ । त्यसका लागि अस्पतालले सुरक्षित प्रशुतीगृह निर्माण गरेर उद्घाटन समेत गरेको छ ।
यो कार्यक्रम गोरखा अस्पतालको अत्यन्त खाँचो परेको, मार्मिक र महत्वपूर्ण कार्यक्रम हो । प्रसुती गृह संचालनका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट १५ लाख रुपैया बजेट विनियोजन भएर आएको उनले बताए ।
हाल प्रसुती गृहमा तीनवटा सुत्ने कोठा, एउटा विरामी कुरुवा कोठा, एउटा भान्सा कोठा र शौचालय व्यवस्था रहेको छ । सबै कोठामा आवश्यक सामग्रीहरु राखिसकेको छ ।
अब गोरखाका गाउँठाउँदेखि सुत्केरी हुनका लागि अथवा सुत्केरी भएर हिँडडुल गर्न वा घर फर्कन तयार नभइसकेका आमा र बच्चाहरुले सुरक्षित रहन पाउने भएका छन् ।




